गौतमबुद्ध विमानस्थलको म्याद थप्न लबिङ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गौतमबुद्ध विमानस्थलको म्याद थप्न लबिङ

gautam buddha airport dhawanmarga

रूपन्देही, २२ जेठ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न हुनु पर्ने मिति असार१३ (जुन २८)  हो । तर, अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ । विमानस्थलको मुख्य भागका रूपमा रहेको ३ किलोमिटरको धावनमार्ग निर्माण सम्पन्न भएको छ । एप्रोन निर्माण सम्पन्न भइसकेको छ भने ‘ट्याक्सी वे’ पनि निर्माण सकिने क्रममा छ ।

तोकिएको समयमा पूरै काम नसकिए पनि मुख्य कामहरू असार १३ गतेसम्म सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । “धेरै प्रगति भएको छ, तोकिएको समय जुन २८ सम्म सबै काम नसकिए पनि मुख्य कामहरू सकिनेछन्,” उनले भने । निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले तोकिएको समयभित्र निर्माणको काम नसकिने भएपछि आयोजनाको कार्यालयलाई डिसेम्बरसम्म समय माग गरेको छ । निर्माण कम्पनीले कामलाई अघि पनि बढाइरहेको छ भने रातको समयमा पनि काम भएको छ । आयोजना प्रमुख अधिकारीले डिसेम्बरसम्मको माग भए पनि आफूहरू छलफलमै रहेको बताए । नागरिक उड्डयन प्राधिकरण, मन्त्रालय, दातृ निकाय एडीबी सबैसँग छलफल र परामर्शपछिमात्र कति समय थप्ने निक्र्योल हुने उनको भनाइ छ । “निर्माण कम्पनीले अहिलेकै गतिमा काम गरे डिसेम्बरसम्म सम्पन्न गर्ने अवस्था देखिन्छ,” अधिकारीले भने ।

उनका अनुसार मुख्य अप्ठ्यारा काम भने सबै सकिसकेका छन् । अब भवनहरूको फिनिसिङ, विद्युतीकरणलगायतका काम बाँकी छन् भने धावनमार्गमा मार्कर गर्ने र दायाँ विद्युतीय उपकरण जोड्ने काम पनि गर्नुपर्नेछ । निर्माण कम्पनीले आईसीपी–टू अन्तर्गतको कामलाई समेत ध्यानमा राख्दै डिसेम्बरसम्म समय थप्न माग गरेका हुन् । जसमा कम्युनिकेसन, नेभिगेसनलगायत विद्युतीय उपकरण, सूचना संयन्त्र जडानलगायतका काम हुन्छन् । सबै सामानहरू अक्टोबरसम्म ल्याएर जडान गर्दा १ महिना लाग्ने बताइएको छ । डिसेम्बरसम्म निर्माणका काम सम्पन्न गरी सन् २०२० मा विमानस्थल सञ्चालनमा ल्याउने योजनाअनुसार अहिले काम भइरहेको छ । केही समयअघि निर्माण सामग्रीको समस्या आए पनि अहिले समाधान भइसकेको छ । अधिकारीका अनुसार अहिले आवश्यक पर्ने माटो नपाएको खण्डमा त्यसको विकल्प पनि खोजिएको छ ।

विमानस्थल निर्माण सम्पन्न भएसँगै उडान र अवतरणका लागि अन्तर्राष्ट्रिय उड्डयन कार्यालयले प्रमाणितसमेत गर्नुपर्ने हुन्छ । भारतले हवाई रुट नदिएको अवस्थामा पुरानै रुट सिमरा र पश्चिमबाट उडान अवतरणका लागि रुट कायम गर्नुपर्ने हुन्छ । उडान अनुमति प्रमाणीकरणका प्रक्रियालगायतका अन्य प्रशासनिक काम पनि निर्माणसँगै एकैसाथ अघि बढे सहज हुने अधिकारीले बताए । विमानस्थलमा हाल चिनियाँ तथा प्राविधिक तथा कामदार कार्यरत गरी २ सय कार्यरत छन् । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);