आज मिथिलाञ्चलमा वट सावित्री मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज मिथिलाञ्चलमा वट सावित्री मनाइँदै

wat sabitri

सप्तरी, २० जेठ । सोमबार तराई मधेशको मिथिलाञ्चल क्षेत्रमा पतिको दीर्घ आयुको कामना गर्दै लोक आस्थाको पर्व वट सावित्री मनाइँदै छ । यो पर्व मनाउनका लागि महिलाहरु बिहानै देखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गर्दछन् । परापूर्वकालदेखि जेठ औँसीका दिन यो पर्व मनाउने गरिन्छ ।

पर्व मनाउनका लागि बिहानैदेखि विभिन्न बरका रुखमुनि घुइँचो लागेको देखिन्छ । जनकपुरको राम मन्दिर, जनक चोक, धनुष सागर लगायतको स्थानमा रहेका वर पीपलको रुख मुनि महिलाहरु पूजा पाठ गरिरहन्छन् । यस पर्वमा बाँसबाट बनाइएका नयाँ पङ्खा, धागो, मिठाई, फलफूल, चनालगायतका सामग्रीका साथ पूजा गरिन्छ । धार्मिकग्रन्थ स्कन्दपुराणमा उल्लेख गरिए अनुसार बरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले बरको रुखमुनि बसेर पूजा गर्दा त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ ।

अर्को धार्मिक मान्यतानुसार, सावित्रीका पति सत्यवानको अल्पायुमै मृत्यु भएपछि बरको रुखमुनिनै राखिएको थियो । सावित्रीले आफ्नो सतित्वको प्रभावले यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि बटवृक्ष अर्थात बरको रुखमुनि नै बसेर यो पर्व मनाउने गरिन्छ । मैथिल समुदायमा खासगरी ब्राह्मण, कायस्थ, व्यास, स्वर्णकार लगायतका जातिका महिला विवाहको पहिलो वर्ष विशेष विधिअनुसार यो पर्व मनाउने गर्छन । यस पर्वलाई ‘बरसाइत’ पर्व पनि भन्ने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);