डेनमार्कमा कांग्रेसको कार्यक्रममा परिवारसहित २५ जनाको टोली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

डेनमार्कमा कांग्रेसको कार्यक्रममा परिवारसहित २५ जनाको टोली

nepali congress

काठमाडौं, २० जेठ । कांग्रेसको विदेशस्थित नेपाली जनसम्पर्क समितिले डेनमार्कको कोपनहेगनमा गर्न लागेको प्रशिक्षण कार्यक्रममा केन्द्रीय नेतासहित २५ जना सहभागी हुने भएका छन् । आगामी २१ देखि २३ जुन (६–८ असार)सम्म हुने ३२ वटै देशमा रहेका समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्तालाई दिइन लागेको प्रशिक्षण कार्यक्रममा नेपालबाट नेता र तिनका आफन्तको लर्को लाग्ने भएको हो ।

कांग्रेसले एउटै कार्यक्रममा धेरै नेतालाई आसनग्रहण गराउँदा र वक्ता बनाउँदा कार्यक्रमको उद्देश्य नै प्रभावित हुने भन्दै छरितो कार्यक्रम गर्ने घोषणा गरेको थियो । तर, विदेशमा हुन लागेको कार्यक्रममा कांग्रेस नेताहरू परिवारसहित जान लागेपछि यसले खर्च बढाउने र विदेशमा कार्यक्रमको व्यवस्थापन गर्न गाह्रो हुने भन्दै पार्टीभित्रैबाट विरोध सुरु भएको छ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक एवं उपसभापति विमलेन्द्र निधिले आफूसहितका पदाधिकारी, केन्द्रीय नेता, प्रतिष्ठानका सदस्यसहितका नेता डेनमार्क जान लागेको जानकारी दिए । ‘३२ वटा देशमा रहेका कांग्रेसका जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहित आउन चाहने सदस्यलाई प्रशिक्षण दिन बोलाएका छौँ,’ निधिले नयाँ पत्रिकासित भने, ‘प्रशिक्षणमा केही समयअघि पारित कांग्रेसको विधानको व्यवस्था, महसमितिका राजनीतिक, आर्थिकसहितका प्रस्तावका विषयमा छलफल हुनुका साथै विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन गराउन दबाब दिने कार्यक्रम छ ।’ प्रशिक्षणका लागि जान लागेका नेताहरूको भिसा आवेदन दिइसकिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);