जनकपुर, १८ जेठ । सिरहा, लहान नगरपालिकाको दक्षिणी बस्ती कालाबञ्जरमा यादव, महतो र दलित समुदायको बाक्लो बसोबास छ । कोहीकतै बिरामी परे धामीकहाँ पुग्ने चलन छ । गाउँमै छन्, नाम चलेका धामी मगहरिया रामकुमार यादव । स्थानीय ३२ वर्षीया रामपरी यादवलाई पेट ढुस्सिने समस्या थियो । उनी मगहरिया धामीकहाँ पुगिन् ।
धामीले तान्त्रिक विधिबाट रोग निको पारिदिने भन्दै मन्त्रोचारण गरे । तर व्यथा झन् बल्झियो । दिनदिनैको पीडाले हायलकायल रामपरीलाई आफन्तले डाक्टरकहाँ जान सुझाए । विराटनगरको अस्पतालमा जँचाउँदा रामपरीको कलेजोमा घाउ देखियो । अपचको समस्या निको पार्न धामीको भर पर्दा उनले झन् समस्या बेहोर्नुपर्यो । एक महिनाको औषधि बोकेर गाउँ फर्किइन् ।
कलाबन्जरमा अझै पनि सकेसम्म धामीकहाँ नै धाउने, समस्या बल्झिएर ठूलो रूप लिएपछि मात्र डाक्टरकहाँ जाने चलन छ । यसको मुख्य कारण हो, अन्धविश्वासमा फसेको समाज । नाडी–निधार छामेर ज्वरो ‘छु–मन्तर’ बनाइदिने दाबी गर्ने धामीझाँक्री छ्यासछ्यास्ती भेटिन्छन् । महोत्तरीको सीमावर्ती गाउँ मटिहानीमा नाम चलेका धामी छन्, राजेन्द्र्र भण्डारी । ४७ वर्षका उनी झन्डै १२ वर्षदेखि ‘भूतप्रेत झार्ने’ काम गर्छन् । हरेक मंगलबार र शनिबार राति मटिहानी, ब्रह्मस्थानस्थित उनको अड्डामा दर्जनौं संख्यामा मानिस पुग्छन् ।
हरेक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन कमला नदीमा ‘भूत मेला’ लाग्छ । पहेँलो वस्त्रमा खाली खुट्टा र माटोको भाँडोमा बलिरहेको आगो बोकेर कमला नदीको किनारमा सयौं संख्यामा धामीझाँक्री भेला हुन्छन् । रातभर गुरुसित मन्त्रोच्चारण गर्दै ‘भगता’ खेल्छन् । गुरुको मन्त्रोच्चारणसँगै जीउ हल्लाउनुलाई भगता भनिन्छ । ‘भूतप्रेत’ झार्दा धामीझmाँक्री यही त्रम दोहोर्याउँछन् । कमला नदीमा स्नान गरेर तान्त्रिक विद्या सिद्ध हुने अन्धविश्वास छ उनीहरूमा । मेलामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, उदयपुर रसीमावर्ती भारतीय क्षेत्रबाट समेत सिकारुहरू ‘धामी विद्या’ सिक्न आउँछन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।