शिक्षक- शिक्षिकालाई गीतसंगीत सम्बन्धी तालिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

शिक्षक- शिक्षिकालाई गीतसंगीत सम्बन्धी तालिम

शिक्षकहरुलाई गीतसंगीत सम्बन्धी तालिम

गोपाल पोखरेल
उदयपुर, १७ जेठ । सामुदायिक विद्यालयको आधारभूत तह कक्षा १ देखि ५ सम्म सामाजिक विषयसँगै ५० पूर्णाङ्कको सिर्जनात्मक कला राखिएको छ । उदयपुरको त्रियुगा नगरपालिकाले सिर्जनात्मक कलाको शिक्षालाई प्रभावकारी बनाउन शिक्षक- शिक्षिकाहरुलाई तालिम दिन थालेको छ । पछिल्लो समय उदयपुर त्रियुगा नगरपालिकामा रहेका सामुदायिक बिद्यालयका सामाजिक विषयका शिक्षकहरु संगीत सिकिरहेका छन् । पाठ्यक्रममा समावेश गरिएको सिर्जनात्मक कलालाई प्रभावकारी बनाउन पछिल्लो समय उदयपुरमा शिक्षकहरुलाई त्रियुगा नगरपालिकाले गीतसंगीत सम्बन्धी नियमित तालिम दिँदै आएको छ ।

साना बालबालिकाको शारीरिक र मानसिक विकासमा सहयोग गर्ने र उनीहरुलाई सिर्जनशील बनाउने उद्देश्यले सिर्जनात्मक कलाको शिक्षण सिकाईलाई लागू गरिएको हो । आधारभूत तहको कक्षा १ देखि ५ सम्मका बालबालिकाले नाच्ने, गाउने, बजाउने र कोलाज निर्माण गर्ने लगायतका सीप विकासका लागि विगत दुई बर्ष देखि नगर क्षेत्र भित्रका शिक्षकहरुलाई गीत संगित तालिमको व्यवस्था गर्दै आएको हो ।

तालिमले विद्यार्थीलाई प्रभावकारी ढङ्गबाट सिकाउन सकिएको शिक्षकको भनाई छ ।त्रियुगा नगरपालिकाको लगानीमा विगत दुई वर्षको अवधिमा दुई महिने, एक महिने र एकहप्ते गरी जम्मा ६ पटक शिक्षकहरुलाई सिर्जनात्मक कला शिक्षण सहजीकरणका लागि तालिम दिइसकिएको छ । शिक्षकहरुलाई सप्तक कला केन्द्रले तालिम दिएको छ ।

तालिमले शिक्षकलाई तालबोलमा विधिपूर्णरुपमा अगाडि बढ्ने आधार प्रदान गर्दै बालबालिका भित्र रहेको सिर्जनात्मक क्षमता पहिचान गर्न र त्यसलाई प्रस्तुत गर्न मद्दत पुग्ने तालिमका प्रशिक्षक शैलेन्द्रकुमार खतिवडाले बताउनु भयो ।

बालबालिकालाई मनोरन्जन प्रदान गर्दै उनीहरुको शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन गीत संगितलाई एउटा प्रभावकारी माध्यम ठानिन्छ । विद्यालयको पाठ्यक्रममा रहेको सिर्जनात्मक कलालाई प्रभावकारी बनाउन उदयपुरको त्रियुगा नगरपालिकाले शिक्षकहरुलाई तालिम दिने कार्य सराहनीय मान्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);