एजेन्सी, १६ जेठ । प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गठबन्धन सरकार बनाउन असफल भएपछि इजरायली सांसदहरुले संसद भंग गर्ने पक्षमा मतदान गरेका छन् ।
प्रधानमन्त्री नेतन्याहूले पछिल्लो महिना भएको निर्वाचनपछि नयाँ दक्षिणपन्थी गठबन्धन बनाउनका लागि गरेको प्रयास विफल भएको छ । अब इजरायलमा आगामी सेप्टेम्बरमा पुनः निर्वाचन हुने भएको छ । कार्यवहाक प्रधानमन्त्रीले गठबन्धन बनाउन नसकेको इजरालयको इतिहासमा यो पहिलो घटना हो । गठबन्धन बनाउनका लागि बुधवार रातीको समय सीमा पूरा भएपछि पेश गरिएको संसद भंग गर्ने प्रस्तावको पक्षमा ७४ मत पर्यो भने विपक्षमा ४५ सांसद उभिएका थिए । गत अप्रिलमा भएको निर्वाचनमा १२० स्थान मध्ये नेतन्याहूको लिकुड पार्टीले ३५ सिटमा जित हासिल गरेको थियो । नेतन्याहूले पाँचौ पटक प्रधानमन्त्रीको पद सम्हाल्ने मौका पाएका थिए तर उनले पूर्व रक्षामन्त्री एविग्दोर लिबरमनसँग सम्झौता गर्न सकेनन् ।संसदमा भएको मतदान पछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री नेतन्याहूले आफुले स्पष्ट चुनावी अभियान चलाएर विजय हाँसिल गर्ने दाबी गरेका छन् ।