मोदीको शपथमा पाँच छिमेकीलाई मात्रै निम्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मोदीको शपथमा पाँच छिमेकीलाई मात्रै निम्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौं, १५ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा आठमध्ये पाँच छिमेकी मुलुकलाई मात्रै निमन्त्रणा गरिएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सदस्यसमेत रहेका नेपाल, भुटान, बंगलादेश, म्यानमार र श्रीलंकालाई अतिथिका रूपमा निमन्त्रणा छ । तर, छिमेकी पाकिस्तान, अफगानिस्तान र चीनलाई निम्ता छैन ।

बिमस्टेक सदस्य थाइल्यान्डका कार्यकारी प्रमुखलाई पनि अतिथिका रूपमा निमन्त्रणा छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को अध्यक्षराष्ट्र किर्गिस्तान र भारतीय मूल बाहुल्य रहेको मोरिससका कार्यकारी प्रमुखलाई पनि शपथग्रहणमा निम्ता गरिएको छ । भारतीय विदेश मन्त्रालयले छिमेक प्रथम नीतिअनुसार छिमेकी मुलुकलाई प्रधानमन्त्रीको शपथग्रहणमा बोलाएको जनाएको छ ।

मोदीले पहिलो कार्यकालका लागि १२ जेठ ०७१ मा शपथग्रहण गर्दा सार्कका सदस्य मुलुक डाकिएका थिए । तर, अहिले बिमस्टेक सदस्य राष्ट्रलाई प्राथमिकतामा राखिएको छ । अघिल्लो सपथमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ शपथग्रहणमा सहभागी थिए । तर, पछिल्लोपटक भारतको पठानकोट, उरी र बालाकोटमा भएको आतंककारी हमलापछि भारत–पाकिस्तान सम्बन्ध चिसिएको छ । यही कारण सार्कको १९औँ शिखर सम्मेलनसमेत पाकिस्तानमा हुन सकेको छैन । पाकिस्तानले आतंकलाई मलजल गरेको आरोप लगाउँदै भारतले शिखर सम्मेलन हुन नसक्ने जनाउँदै आएको छ । ०७३ कात्तिकमा पाकिस्तानमा सार्क शिखर सम्मेलन हुन नसके पनि गत वर्ष भदौ दोस्रो साता काठमाडौंमा बिमस्टेको चौथो शिखर सम्मेलन भएको थियो । मोदीले बिमस्टेक मुलुकका सरकार प्रमुखलाई शपथग्रहणमा निम्ता गर्नुलाई सार्कको अनिश्चित भविष्यका रूपमा हेर्न थालिएको छ ।

यसपटक हिन्द महासागर जोडिएको माल्दिभ्सलाई पनि निम्ता छैन । तर, मोदीले एक महिनापछि माल्दिभ्सको औपचारिक भ्रमण गर्ने तयारी छ । ‘अघिल्लोपटक पहाड (भुटान)बाट भ्रमण सुरु गर्नुभएका हाम्रा प्रधानमन्त्रीले यसपटक समुद्र (माल्दिभ्स)बाट भ्रमण शुभारम्भ गर्नुहुनेछ,’ भारतका रक्षा मन्त्रालयसम्बद्ध थिंकट्यांक आइडिएसएका नेपालविज्ञ डा. निहार नायकले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);