११ खर्बको आयातमा दुई खर्बको पेट्रोलियम पदार्थ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

११ खर्बको आयातमा दुई खर्बको पेट्रोलियम पदार्थ

petrolium padartha

काठमाडौं, १३ जेठ । चालू आर्थिक वर्षको १० महिनामा ११ खर्ब ७८ अर्ब रुपैयाँको आयात हुँदा २ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । बजारमा इन्धनको माग बढ्दै गएकाले पेट्रोलियम पदार्थ सवैभन्दा धेरै आयात भएको हो । मुलुकमा आयात हुनेमा सवैभन्दा धेरै पेट्रोलियम पदार्थ छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १० महिनामा २ खर्ब ६ अर्ब ९० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । बढ्दो विलासीताले सवारी साधनको प्रयोग बढेसँगै बजारमा इन्धन खपत बृद्धि हुँदै गएको हो । १० महिनामा ११ खर्ब ७८ अर्बको आयात हुँदा मुलुकबाट ७८ अर्ब ५३ करोड ३९ रुपैयाँको स्वदेशी वस्तु निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयातमा पहिलो स्थानमा पेट्रोलियम पदार्थ र दोस्रोमा फलाम तथा स्टील रहेको छ । १ खर्ब १९ अर्ब ८६ करोड ७५ लाख रुपैयाँको फलाम तथा स्टिल आयात भएको छ । यस्तै १ खर्ब ५५ करोडको मेसिनरी उपकरण तथा पार्टपुर्जा, ७७ अर्बको सवारीसाधन, ७२ अर्ब ८३ करोडको विद्युतीय उपकरण, ४४ अर्बको खाद्यान्न (चामल, गहुँ, मकै), २४ अर्बको तरकारी, १७ अर्ब १४ करोडको फलाम तथा स्टिलका उपकरण र १५ अर्ब ४६ करोडको फलफूल आयात भएको विभागको तथ्यांक छ ।

चालू आवको १० महिनामा कुल वैदेशिक व्यापार घाटा ११ खर्ब पुगेको छ । अघिल्लो ९ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब थियो । एक महिनाको अवधिमा व्यापार घाटा १ खर्ब ७ अर्ब ८१ करोड ६७ लाख रुपैयाँले वृद्धि भएको छ । आयात वृद्धिको तुलनामा निर्यात न्यून हुँदा व्यापार घाटा चुलिएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार १० महिनाको अवधिमा नेपालले विभिन्न मुलुकसँग १२ खर्ब ५६ अर्ब ६७ करोड ३४ लाखको वैदेशिक व्यापार गरेको छ । नेपालले झन्डै १ सय ५५ मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । यसमध्ये ४८ मुलुकमा नेपालले कुनै पनि वस्तु निर्यात गर्दैन । ती मुलुकबाट आयात मात्रै गर्छ । त्यस्तै १ सय ५५ मुलुकमध्ये १० मुलकसँग मात्रै नेपालले निर्यातसम्बन्धी कारोबार गर्दै आएको छ । भारतसँग १० महिनाको अवधिमा नेपालले ७ खर्ब ६१ अर्बको आयात र ५० अर्बको निर्यात गरेको छ । भारतसँग मात्रै यस अवधिमा ७ खर्ब ११ अर्बको व्यापार घाटा छ । यसैगरी १० महिनामा चीनसँग १ खर्ब ६९ अर्बको आयात र १ अर्ब ७८ करोडको वस्तु निर्यात भएको छ । १० महिनाको अवधिमा चीनसँग १ खर्ब ६८ अर्ब ४३ करोड व्यापार घाटा छ ।

चालू वर्षको १० महिनामा ७८ अर्ब ५३ करोड ३९ रुपैयाँको नेपाली वस्तु निर्यात भएको छ । भन्सार विभागका अनुसार अघिल्लो वर्षको १० महिनाको तुलनामा यस वर्ष १७.८४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । अघिल्लो वर्ष यही अवधिमा ६६ अर्ब ६४ करोड ५६ लाख रुपैयाँको नेपाली वस्तु भारतसहित तेस्रो मुलुक निर्यात भएको थियो ।

पछिल्लो १० महिनामा १८ अर्ब ७९ करोड ४६ लाख रुपैयाँको नेपाली वस्तु निर्यात भएका छन् । १० महिनाको अवधिमा सबैभन्दा बढी ८ अर्ब ९७ करोड ८६ लाख रुपैयाँको वनस्पति तथा जैविक घिउ निर्यात भएको छ ।

यसपछि टेक्सटाइलको कच्चा पदार्थ ८ अर्ब २१ करोड, कफी तथा चिया ६ अर्ब ८६ करोड, कार्पेट ६ अर्ब ३६ करोेड तथा फलाम र स्टिल ५ अर्ब १८ करोडको निर्यात भएको छ । यस्तै तामाका भाडावर्तन १ अर्ब ८ करोडको निर्यात भएको छ ।

निर्यात वृद्धि गर्न सरकारले अनुदानमा प्रोत्साहन दिँदै आएको छ । प्रोत्साहन दिएर पनि निर्यात वृद्धि हुन सकेको छैन । सरकारले चालू वर्षको चैतसम्म निर्यात प्रोत्साहन अनुदानको नाममा २३ करोड ९० लाख रुपैयाँ वितरण गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको चालू वर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षा प्रतिवेदन अनुसार गत वर्षको चैतसम्म निर्यात अनुदानमा २१ करोड १४ लाख रुपैयाँ खर्च भएको थियो । २०६८-६९ देखि हालसम्म निर्यात अनुदानका लागि १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ खर्च भएको थियो ।  यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);