काठमाडौं, ११ जेठ । पुर्व प्रधानमन्त्री झलनाथ खनालले शिक्षाको समग्र प्रणालीसंगै पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । शनिबार राजधानीमा आयोजित शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले परिवर्तित सन्र्दभमा विश्वको शिक्षा पद्धती, प्रविधि तथा नमुना अनुसार नेपाली शिक्षाको प्रणालीमा परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनुभएको हो ।
बर्षेनी ठूलो संख्यामा नेपाली विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि बाहिरीने गरेको तथा सो क्रममा ठूलो परिमाणमा नेपाली धनराशि बाहिर गएको भन्दै उहाँले स्वदेश मै विश्वस्तरको शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र संभावना हेरेर विश्वस्तर अनुरुप शिक्षाको समग्र प्रणालीलाई परिर्वतन गरि अद्यावधी गर्दै नेपाललाई शैक्षिक केन्द्रको रुपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता औल्याउनुभयो ।
पुर्व प्रधानमन्त्री खनालले २०४६ साल देखि नेपालको शिक्षा क्षेत्रमा मात्रात्मक रुपमा ठूलो परिवर्तन भए पनि युगको आवश्यकतालाई प्रतिबिम्बित गर्न नसकेकाले सरकारले उच्चस्तरीय शिक्षा आयोग मार्फत विस्तृत अध्ययन गरि शिक्षामा आमुल परिवर्तन गर्न खोजेको स्पष्ट पार्नुभयो । उहाँले शिक्षा क्षेत्रको सुधारका लागि सरकारसंगै नीजि क्षेत्रको पनि सहकार्य आवश्यक रहेको बताउनुभयो ।