काठमाडौं, ११ जेठ । सांसदका सुझाव समेट्न केही दिनअघि अर्थमन्त्री युवराज खतिवडाले गण्डकी प्रदेशका सांसदलाई मन्त्रालयमा बोलाए। प्रत्यक्ष निर्वाचित अधिकांश सांसदको सुझाव थियो, निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमको रकम ४ करोडबाट बढाएर १० करोड पुर्याउनुपर्यो।
टाउको हल्लाउँदै अर्थमन्त्रीले सांसदका सुझाव नोट गरिरहेका बेला नेकपाकी नेतृ यशोदा सुवेदी गुरुङ भने कड्किइन्। ‘अर्थमन्त्रीज्यू, निर्वाचन क्षेत्र विकासको कार्यक्रम थप गर्ने त परै जाओस्, चार करोड दिने निर्णय गर्नुभयो भने म अदालत जान्छु।’ प्रमुख सचेतक देव गुरुङकी पत्नी यशोदाको उक्त चेतावनीपछि बैठकमा सांसदबीच चर्काचर्की पर्यो।
रिसले मुर्मुरिएका प्रत्यक्ष निर्वाचित सांसदहरू दलका उपनेता सुवास नेम्वाङको कार्यकक्षमा पुगे। ‘समानुपातिक सांसदले निर्वाचन क्षेत्र विकास कार्यक्रम आफूहरुलाई पनि चाहियो भन्न सक्नुहुन्छ, तर यस्तो कार्यक्रम दिए अदालत जान्छु भन्ने कुरा सुहाएन,’ उपनेता नेम्वाङलाई गण्डकीका प्रत्यक्ष निर्वाचित सांसदको गुनासो थियो।
कपिलवस्तुबाट कांग्रेस समानुपातिक सांसद अतहर कमाल मुसलमान र कृषिमन्त्री चक्रपाणि खनालबीच पनि ४ करोड बजेट विनियोजनलाई लिएर सम्बन्ध चिसिएको छ। कपिलवस्तु १ को निर्वाचन क्षेत्र विकास कार्यक्रमको ४ करोडको बजेट एकलौटी बाँडेको भन्दै कांग्रेसका मुसलमान कृषिमन्त्रीसँग रिसाएका छन्।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।




