सुरक्षागार्ड हजुरआमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सुरक्षागार्ड हजुरआमा

surakxa guard hajurama

काठमाडौं, ११ जेठ । शरीरमा कालो युनिफर्म। खुट्टामा कालै रंगको छालाका बुट। अनि हातमा स्क्यानर मेसिन। पाटनढोकास्थित गणेश मन्दिर नजिकै रहेको नव युवा बचत तथा सहकारी संस्थामा सुरक्षा गार्डको रूपमा कार्यरत छिन्, मनमाया महर्जन (६०) गेटअगाडि यही अवस्थामै भेटिन्छिन्।

उनले सुरक्षा गार्डको रूपमा काम गर्न थालेको एक वर्ष हुन थाल्यो। हसिलो अनुहार अनि फुर्तिली मनमाया दिनभरी हातमा स्क्यानर लिएर सहकारीको सुरक्षामा जुट्छिन्। शंका लाग्ने, नचिनेको मान्छे सहकारीमा आयो भने विशेष ध्यान दिएर सक्रिय भएर चेक गर्नु पर्ने उनी बताउँछिन्। ६० वर्षकी मनमाया एक प्रेरणा हुन्। नेपालका अधिकांश युवापुस्तामा आएको नैराश्यता, र काम गर्ने वातावरण छैन भनी गुनासो पोख्नेहरुको लागि उदाहरण हुन् उनी। शरीरमा फुर्ती रहुन्जेल, काम गरेर नै खानु राम्रो भन्ने सोच राख्ने उनी कुनै जवान सुरक्षा गार्डभन्दा कम भने छैनन्।

उनी बिहानै उठेर घर नजिकैको गणेश मन्दिरमा पूजा गर्न जान्छिन्। र, पूजा सकेर बिहानको खाजा खाएपछि ड्युटीको तयारीमा जुट्छिन्। र, हानिन्छिन् सहकारीतिर। बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म सहकारीमा आउने ग्राहकलाई स्क्यानरले जाँच्नु उनको दैनिकी नै हो। सहकारी र घर नजिकै भएकाले सहज भएको उनको भनाइ छ।

‘घरनजिकै काम गर्न पाउँदा खुसी छु, यतिकै घरमा बस्नुभन्दा यहाँ काम गरे समय मजाले कट्छ,’ उनले भनिन्। मनमायालाई कामप्रति निकै रुचि छ। उनी कुनै पनि काम सानो–ठूलो नहुने बताउँछिन्। समय कटाउन यसै बस्नुभन्दा केही न केही काम गर्नु बुद्धिमानी रहेको उनी बताउँछिन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);