काठमाडौं, ६ जेठ । हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाले गाउँपालिका भित्र रहेका विपन्न दलित परिवारका लागि घर निर्माण थालेको छ ।
गाउँपालिकामा विपन्न दलित सुरक्षित आवासका लागि निवेदन परेकामध्ये अति आवश्यकताको आधारमा छनोट गरी घर निर्माण थालेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार ११ जनाले निवेदन दिएकोमा ६ जना छनोट गरी चालु आर्थिक वर्षमै सक्ने गरी घर निर्माण थालिएको हो ।
प्राथमिकताका आधारमा छनोट गरेर घर बनाइएको उहाँले बताउनुभयो । यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपियाँ बजेट छुट्याएको छ । ‘यो वर्ष ६ घर मात्र बनाएका छौं । अर्को वर्ष थप विपन्न दलित छनौट गरी घर निर्माण गर्नेछौं’ उहाँले भन्न्ुभयो, ‘विपन्नको आवास बनाउनु गाउँपालिकाको दायित्व हो । नजिकको सरकार भनेको हामी नै हौं । हामीले जनताको आवश्यकता अनुसार काम गर्नुपर्छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीका अनुसार नासोें ६ तिल्चेका माइला कामी, नासों ४ घेलाञ्चोकका फूलमाया कामी र मानसिहं कामीको घर, सोही गाउँकै लक्ष्मण वि.क. र मंगल वि.क.को घर, मन वहादुर वि.क.को घर, नासों गाउँपालिका ९ दानाक्यूका सुकबहादुर परियार र नासों गाउँपालिका १ तालका तुल वहादुर वि.क.को घर निर्माण गरिँदै छ । मनबहादुर विकको घर सम्पन्नको चरणमा पुगेको र अन्य घर निर्माणाधीन अवस्थामा रहेको उहाँले बताउनुभयो । ५ जनाको घर निर्माण गर्न प्रति घर ३ लाख ५० हजार रुपियाँको अनुदान सिफारिस गरिएको छ । १ जनाको भने १ लाख ७५ हजार रुपियाँ अनुदान सिफारिस भएको छ । गाउँपालिकाले दिएको रकममा स्थानीयले रकम थपेर घर निर्माण गरिरहेका छन् ।




