एकैदिन एकहजार अर्व डलरको गिरावट, सबैभन्दा धेरै असर अमेरिकी कम्पनीमा
एजेन्सी, ३१ बैशाख । अमेरिका र चीनबीच व्यापार युद्ध चर्किदा विश्वभरको शेयरबजार प्रभावित भएको छ । अमेरिकाले दुई सय अर्ब डलर बराबरको चिनियाँ आयातमा २५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीनले पनि ६० अर्व बराबरको अमेरिकी आयातमा २५ प्रतिशत नै भन्सार शुल्क लगाएको छ । दुइ देशको व्यापार युद्धले अहिले विश्वभरको शेयर बजार प्रभावित भएको छ । सबैभन्दा धेरै अमेरिकाकै ठुला कम्पनीहरु प्रभावित भएका छन् ।
गत जुनमा अमेरिकी राष्ट्रपति डोनल ट्रम्पले पहिलो पटक ३४ अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीन र अमेरिकाबीच व्यापार युद्ध सुरू भएको थियो । पछि अमेरिकाले उक्त शुल्क ५० अर्ब डलर बराबरका सामानमा लगायो ।
लगत्तै चीनले पनि ५० अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा २५ प्रतिशत शुल्क थप्यो । सेप्टेम्बर २४ देखि थप २ सय अर्ब डलरका चिनियाँ सामानमा अमेरिकाले १० प्रतिशत शुल्क लगाएको थियो । अहिले चीनबाट ५३९.५ अर्ब डलरको सामान अमेरिका जान्छ ।
वासिङटनमा अघिल्लो साता सुरू भएको ११ चरण लामो वार्ता बिना निष्कर्ष टुंगिएपछि चर्किएको व्यापार युद्धले सोमबारमात्रै संसारका प्रमुख सेयर बजारले एक हजार अर्ब डलरभन्दा बढीको गिरावट बेहोरेका छन् । यो संसारभरिका प्रमुख सेयर बजारमा व्यापार युद्धले दिएको ठूलो धक्का हो ।
अमेरिकाले चीनबाट आयात हुने २०० अर्ब डलर बराबरका सामानमा लगाउँदै आएको १० प्रतिशत भन्सार शुल्क शुक्रबारदेखि २५ प्रतिशत पु-याएको छ भने त्यसको बदलामा चीनले सोमबार अमेरिकाबाट आयात हुने ६० अर्ब डलर बराबरका सामानमा लगाउँदै आएको भन्सार शुल्क बढाएर जुन १ देखि २५ प्रतिशत पुराउने घोषणा गरेको छ ।
अमेरिकाले चीनबाट ५ सय अर्ब र चीनले अमेरिकाबाट सवा अर्ब डलर भन्दा बढीका सामान आयात गर्दै आएका छन् । २०१८ मा अमेरिकी अर्थतन्त्र २०.४ ट्रिलियन डलर बराबरको थियो भने चिनियाँ अर्थतन्त्र १४ ट्रिलियन डलर बराबरको थियो ।
तेस्रो ठूलो अर्थशास्त्र चीनले पनि अमेरिकी आयातमा भन्सार शुल्क बढाउने निर्णय गरेको २४ घण्टामै विश्व सेयर बजारमा एक हजार डलर बराबरको गिरावट आएको हो । यो गिरावटको सबैभन्दा बढी मार उच्च प्रविधिमा काम गर्ने कम्पनीले व्यहोरेका छन् ।
सबैभन्दा ठूलो गिरावट अमेरिकी सेयर बजारमा आएको छ । अमेरिकी कम्पनी एप्पल, इन्टेल र क्याटरपिलरका सेयर सबैभन्दा धेरै ओराले लागेका छन् । एप्पलको सेयर एकैदिनमा ५.४ प्रतिशत, क्याटलपिलरको ५ प्रतिशत र इन्टेलको २.४ प्रतिशतले ओर्लिएको छ ।
ट्रम्पले बाँकी ३२५ अर्ब डलरका चिनियाँ सामानमा पनि छिटै कर लगाउने चेतावनी दिएका छन् । चिनियाँ सामानमाथिको करका कारण अमेरिकी अर्थतन्त्रमा सुधार भएको ट्रम्पको दाबी छ । अमेरिकाले लगाएको करका कारण ती सामानको उत्पादन खर्च नगन्य रूपमा बढेको उनको तर्क छ ।
यसअघि वार्ताका क्रममा चीनले सरकार नियन्त्रित उद्योग व्यवसायमा दिने अनुदान घटाएर खुला बजार बनाउने, वौद्धिक सम्पत्तिको संरक्षण र अमेरिकाबाट आयात गर्ने सामानको मात्रा बढाउनेमा सहमति गरेको थियो ।
तर यी सहमतिलाई कसरी लागु गर्ने भन्ने कुरामा दुई देशबीच सहमति हुन सकेको छैन । अमेरिका यसअघि पनि चीनले सहमति गरेको तर कार्यान्वयनमा उदासिनता देखाएको भन्दै यसपालि बलियो कार्यान्वन प्रणाली बनाउने पक्षमा छ ।
तर चिनियाँ पक्षले यसलाई आफ्नो सार्वभौमिकतासँग जोडेको छ । चिनियाँ व्यापारबारे अमेरिकाले निर्णय गर्ने प्रणाली हुनुभन्दा सहमति नै नभए पनि आफ्नो अर्थतन्त्र चल्न सक्ने चिनियाँ बुझाई छ । यसले विश्व अर्थतन्त्रमा कस्तो असर परछ भनेर विश्वभरका अर्थशास्त्रिको ध्नाकर्षण गरेको छ ।
व्यापार युद्ध चीन र अमेरिकाको मात्र नभएर चिनिया राष्ट्रपति सीजीन पिङ र अमेरिकी राष्ट्रपति डोनल ट्रम्पको व्यक्तित्वको पनि भएकाले यसको समाधान त्यति सहज नभएको कुटनीतिज्ञहरुको विश्लेषण छ ।