काठमाडौं, ३० बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल बिधेयक प्रेस स्वतन्त्रता बिरोधी रहेको भन्दै आपत्ती जनाएको छ ।
आईतवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उक्त बिधेयक प्रेस स्वतन्त्रतामाथिको कू भएको बताउनुभयो । उहाँले बिधेयक संबिधानको भावना र मर्म बिपरित भएको भन्दै प्रेस माथिको हस्तक्षेप कांग्रेसलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
कांग्रेसले उक्त बिधेयक बिरुद्ध संसद्मा प्रखर ढंगले उभिने जनाएको छ । प्रेससम्बन्धी कानुन निर्माण गर्दा सरकारले सरोकारवाला पक्षसँग कुनै छलफल नभरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले सरकार प्रेसमाथि नियन्त्रण गरेर अधिनायकबादतर्फ अघि बढेको आरोप समेत लगाएको छ ।