उत्पादन क्षेत्रमा अहिलेसम्मकै ठूलो विदेशी लगानी भित्रियो | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

उत्पादन क्षेत्रमा अहिलेसम्मकै ठूलो विदेशी लगानी भित्रियो

पौने ३७ अर्ब लगानीको होङ्सी शिवम् सिमेन्ट स्थापनाको तयारी –

काठमाडौं, १९ भदौ । नेपालको उत्पादनमूलक क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी लगानी भित्रिएको छ । चीनको होङ्सी समूहले नेपालको सिमेन्ट उद्योगमा झन्डै २६ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो । यो नेपालको उत्पादनमूलक क्षेत्रमा भित्रिएको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी भएको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।

 

होङ्सी र नेपाली व्यवसायीको संयुक्त लगानी रहेको ‘होङ्सी शिवम् सिमेन्ट प्रालि’ले यसअघि नै लगानीको स्वीकृति लिएर उद्योग स्थापनाको प्रक्रिया अघि बढाइसकेको छ । उद्योगमा कुल ३६ अर्ब ७५ करोड (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी हुनेछ । यसमा होङ्सी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको ७० प्रतिशत लगानी रहेको छ । बाँकी ३० प्रतिशत लगानी भने नेपालका विभिन्न व्यावसायिक समूहको शिवम् होल्डिङको रहेको छ ।

 

लगानीबोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच नेपालमा ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आइतबार ‘परियोजना लगानी सम्झौता (पिआइए) भएको छ । पिआइएमा बोर्डका सिइओ अधिकारी र कम्पनीका निर्देशक–महाप्रबन्धक लाई वेइपेङले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि चिनियाँ राजदूत यु होङको समेत उपस्थिति थियो ।

 

पहिलोपटक पिआइए

बोर्डले नेपालमै पहिलो ‘परियोजना लगानी सम्झौता’ पिआइए गरेको छ । यस्तो सम्झौता नेपाल सरकार कम्पनीबीच १५ वर्षका लागि गरिएको एक करार हो । सम्झौतामा लगानी सुरक्षा, राष्ट्रियकरण नगर्ने, नाफा लैजान पाउने, कानुनअनुसारको सुविधा दिनेलगायत उल्लेख छ । सम्झौतामा दुवै पक्षका अधिकार र दायित्वलाई स्पष्ट पारिएको उनले बताए ।

 

१५ महिनाभित्र उत्पादन थाल्ने

नवलपरासीमा रहने होङ्सी शिवम् सिमेन्टले अबको १५ महिनाभित्रै सिमेन्ट उत्पादन सुरु गर्नेछ । आइतबार भएको पिआइएमा उद्योगले सन् २०१८ भित्र सिमेन्ट उत्पादन थालिसक्ने उल्लेख छ । उद्योगले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्नेछ । पछि उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पुर्याउने लक्ष्य राखिएको छ । पाल्पामा रहेको खानीको उपयोग गर्नेछ । उद्योगले उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्नुका साथै आयात प्रतिस्थापनको लक्ष्य लिएको होङ्सी शिवम्का सञ्चालक सतिस कुमार मोरले बताए ।

 

यस्ता छन् होङ्सी र शिवम्

होङ्सी ग्रुप चीनको दश ठूलाभित्र पर्ने सिमेन्ट उत्पादक कम्पनी हो । यसले चीनका साथै लाओस, म्यानमारलगायत मुलुकमा ठूला सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ । मकवानपुरको हटियाचौरमा रहेको शिवम् सिमेन्टले अहिले दैनिक १ हजार २ सय मेट्रिकटन सिमेन्ट उत्पादन गरिरहेको छ । ४ वर्षअघिदेखि सञ्चालनमा आएको शिवम् सिमेन्टमा हालसम्म करिब ४ अर्ब रुपैयाँ लगानी भइसकेको छ । हाल शिवम् सिमेन्टमा ४ सयजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संयुक्त लगानीमा स्थापना हुने उद्योगमा १ हजारजनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

 

लगानीका लागि सकारात्मक सन्देश

सम्झौता कार्यक्रममा बोल्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालले अहिले सम्पूर्ण ध्यान दिगो विकास र आर्थिक समृद्धिका लागि लगाएको बताए । उनले यस सम्झौताबाट नेपालको व्यावसायिक वातावरणबारे सकारात्मक सन्देश सम्प्रेषण भएको उल्लेख गर्दै परियोजनाको कार्यान्वयनका लागि सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

 

सोही अवसरमा बोर्डका सिइओ अधिकारीले नेपाल लगानीका लागि खुला र अनुकूल रहेको बताए । उनले यस सम्झौताले विदेशी लगानीकर्ताहरूका लागि नेपाल वास्तवमै आकर्षक गन्तव्य बन्दै गइरहेको प्रमाणित भएको समेत बताए ।

 

होङ्सी शिवम्का निर्देशक लाई वेइपेङले नेपालका लगानीका लागि उपयुक्त रहेको बताए । उनले होङ्सी शिवम् उद्योग निर्माणको काम अघि बढिसकेको बताउँदै समयमै उत्पादन सुरु गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, कम्पनीका सञ्चालक सतिस कुमार मोरले आयात प्रतिस्थापन तथा निर्यात वृद्धि नगरेसम्म मुलुकको विकास नहुने भन्दै नेपालले ठूला र मूल्य अभिवृद्धि बढी हुने उद्योग स्थापनामा जोड दिनुपर्ने बताए ।

कृष्ण रिजालले आजको नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);