कांग्रेसमा टिकटको सकस : ठाउँ फेर्दै बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कांग्रेसमा टिकटको सकस : ठाउँ फेर्दै बैठक बस्दै

काठमाडौं, १९ भदौ । प्रदेश २ मा २ असोजमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगाउन बसेको बैठक टुंगोमा पुग्न नसकेपछि कार्यकर्ताको दबाब छल्न नेपाली कांग्रेसले बैठक स्थल नै परिवर्तन गर्न थालेको छ ।

 

टिकट टुंगो लगाउन भन्दै एक सातादेखि बसेको बैठक स्थलमा नेता तथा कार्यकर्ताको भीडले चाडो टुंग्याउन दबाब दिएपछि टिकटको अन्तिम टुंगोको जिम्मेवारी पाएका नेताहरू बैठकस्थल परिवर्तन रणनीतिमा जुटेका छन् । पार्टी केन्द्रीय कार्यालयमा उम्मेदवारको टुंगो लगाउन भन्दै प्रदेश २ का केन्द्रीय सदस्यदेखि क्षेत्रीय सभापति र उम्मेदवारका आकांक्षीसम्मलाई राखेर बैठक गरिए पनि सहमति जुट्न सकेको छैन ।

 

प्रतिस्पर्धी दलले उम्मेदवार टुंगो लगाएको भन्दै कांग्रेस नेतृत्वमा चर्को दबाब परेपछि दबाब छल्न आइतबारसम्म धेरैपटक बैठकस्थल परिवर्तन भएका छन् । एक साताभित्र उम्मेदवार छनोट सक्न भन्दै बसेको बैठक पार्टी कार्यालयदेखि टोखास्थित महामन्त्री शशांक कोइराला निवास हुँदै सानेपामा रहेको मोक्ष रेस्टुरेन्टसम्म पुगेको हो । कांग्रेस स्रोतका अनुसार बैठकस्थलमा नेता तथा कार्यकर्ता र आकांक्षी उम्मेदवारहरूको भीड लाग्न थालेपछि नेताहरू बैठक स्थल नै परिवर्तन गर्न बाध्य भएका हुन् ।

 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले केही दिनअघि नै टिकटको टुंगो लागेको र प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा राजधानी फर्किएलगत्तै नाम सार्वजनिक हुने बताएका थिए । तर उम्मेदवारको अन्तिम नाम टुंगो लगाउने आधिकारिक जिम्मेवारी पाएका नेताहरू नै आफ्ना पक्षका उम्मेदवारहरूको नाममा लबिङ गर्न थालेपछि नेताहरू स्थान फेर्दै बैठक बस्न थालेका हुन् । कांग्रेसले उम्मेदवारको छिनोफानो गर्ने अधिकार महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई दिएको छ ।

 

शनिबार र आइतबार बिहान भएका बैठकमा महामन्त्री कोइराला असन्तुष्टि राखेर बैठकबाट बाहिरिएपछि भने पुनः बैठक बस्न सकेको छैन । महामन्त्री कोइराला कार्यक्रम भन्दै आइतबार उपत्यकाबाट बाहिरिएपछि उम्मेदवार टुंगो लगाउने विषय थप जटिल बनेको छ ।

 

कांग्रेस नेता तथा प्रदेश २ बाट केन्द्रीय सदस्य निर्वाचित रमेश रिजालले केही स्थानीय तहमा प्रमुख टुंगिए पनि केहीमा उपप्रमुखमा विवाद देखिएको बताए । उनका अनुसार केही स्थानीय तहमा भने प्रमुख र उपप्रमुख नै टुंगिन सकेको छैन । बारा, पर्सा, धनुषा जिल्लाका धेरैजसो स्थानीय तहमा कांग्रेसलाई उम्मेदवार टुंग्याउन हम्मेहम्मे परेको छ । पर्साको वीरगन्ज महानगरपालिकामा उपप्रमुखमा विवाद छ ।

 

प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये कांग्रेसले आठ स्थानीय तहमा प्रमुख र उपप्रमुख टुंगो लगाउन सकेको छैन । यस्तै, १४ तहमा तालमेल गर्ने सम्भावना रहेका कारण केहीमा प्रमुख टुंगिएको छ भने केहीमा उपप्रमुख टुंगो लगाउन बाँकी छ ।

 

बाराको जितपुर सिमरा उपमहानगरमा प्रमुख र उपप्रमुख नै टुंगिएको छैन भने कलैया उपमहानगरमा पनि दुवै पदमा टुंगो लागेको छैन । यस्तै निजगढ नगरपालिकामा पनि दुवै पद टुंगिएको छैन । सर्लाहीका केही स्थानमा दुवै पदमा टुंगो लागेको छ भने केहीमा विवाद कायम छ ।

 

यस्तै धनुषा, सिरहा र सप्तरीमा समेत केहीमा बाँकी छ । केहीमा एक पदमा टुंगो लागि सकेको छ । नेता र गुटैपिच्छे नै भाग खोज्न थालेपछि निर्णय हुन नसकेको कार्यकर्ताहरूले गुनासो गरेका छन् । यसअघि कांग्रेसले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनका क्रममा भएका गल्तीबाट पाठ सिक्दै समयमा नै उम्मेदवार टुंगो लगाउने प्रतिबद्धता जनाएको थियो ।

 

राजपाका सबै बाँकी

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को आन्तरिक विवादका कारण प्रदेश २ को स्थानीय तहका कुनै पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।राजपा अध्यक्ष मण्डलले १३ भदौसम्ममा प्रदेश २ का १ सय ३६ वटै तहमा उम्मेदवार टुंगो लगाउने गरी जिल्लाजिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो ।

 

तर स्थानीय तहमा उम्मेदवारको संख्या बढी भएपछि प्रतिनिधिले टुंगो लगाउन सकेनन । उम्मेदवार मनोनयनको दिन नजिकिसक्दा समेत उम्मेदवार टुंगोमा नपुगेपछि केन्द्रीय नेताले हस्तक्षेप गरेका छन् ।उम्मेदवार टुंगो नलागेपछि पार्टी केन्द्रीय कार्यालय बबरमहलमा टिकटका लागि नेताहरूको घुइँचो लागेको छ ।

 

पार्टी महासचिव अजय गुप्ताले केही तहमा उम्मेदवारको टुंगो लागेपनि अधिकांश ठाउँमा उम्मेदवार हुनेको संख्या बढी भएकाले त्यसको अन्तिम निर्णय पार्टी अध्यक्ष मण्डलले गर्ने बताए । ६ वटा पार्टी एकीकरण भएर नयाँ पार्टी बनेपछि हरेक तहमा आकांक्षी बढेका कारण उम्मेदवार टुंगो लगाउन नसकेको राजपाका नेताहरू बताउँछन् ।

महेश्वर गौतमले आजको राजनधानी दैनिकमा समाचार लेखेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);