काठमाडौं, २३ बैशाख । पार्टीका जनबर्गीय संगठनको एकता २ दिनभित्र हुने नेकपाका अध्यक्ष दाहालको दावी, पार्टी निर्माणको बृहद बहसमा सहभागी हुन नेता र कार्यकर्तालाई निर्देशन दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दुई दिन भित्र पार्टी एकीकरणका बाँकि कामलाई पूर्णता दिने बताउनु भएको छ ।
आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले जिल्ला कमिटीहरुको एकीकरणको काम सकिएको भन्दै जनबर्गीय संगठनहरुको एकीकरण र नेताहरुको जिम्मेवारी बाँडफाँडको काम पनि २ दिन भित्र सम्पन्न हुने दावी गर्नुभयो । उहाँले जनबर्गीय संगठनको एकताका बिषयमा छलफल गर्न सोमबार पार्टीको सचिवालय बैठक बोलाइएको पनि जानकारी दिनुभयो ।
दाहालले पार्टी एकीकरणको बाँकि काम पूरा हुनेवित्तिकै करिव ८ महिनामा पार्टीका जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने योजना रहेको बताउनुभयो । उहाँले पार्टी निर्माणका लागि बृहद बहसमा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।
अध्यक्ष दाहालले पार्टी समाजवादी कित्तामा उभिएकाले त्यसैलाई वैचारिक आधार मानेर पार्टी निर्माणको बहसलाई व्यापक बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।