प्रदेश नम्बर २ का १००३ मतदानस्थल अति संवेदनशील | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश नम्बर २ का १००३ मतदानस्थल अति संवेदनशील

दलहरूको अस्वस्थ प्रतिस्पर्धा पनि सुरक्षा चुनौती –

आगामी २ असोजमा स्थानीय तह निर्वाचन हुने प्रदेश नं. २ का आधाजसो मतदानस्थललाई प्रहरीले अति संवेदनशील सूचीमा राखेको छ । आठ जिल्लाका दुई हजार १६६ मध्ये एक हजार तीन मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सुरक्षा योजना बनाइएको छ । मतदानस्थललाई सुरक्षा निकायले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरेको छ । सप्तरीलाई सुरक्षाका दृष्टिकोणले सबैभन्दा चुनौतीपूर्ण जिल्ला मानिएको छ । आइतबार जनकपुरमा सम्पन्न प्रदेश नं. २ को सुरक्षा गोष्ठीमा सुरक्षा योजनालाई अन्तिम रूप दिई कार्यान्वयन अघि बढाइएको छ ।

 

सिरहाका दुई सय २१ मतदानस्थलमध्ये एक सय नौलाई अति संवेदनशील सूचीमा राखिएको छ । त्यस्तै, ८४ स्थललाई संवेदनशील र २८ लाई सामान्यको सूचीमा राखिएको छ । सिरहामा नौ सय ६० प्रहरी कार्यरत रहेकोमा २१ सय थप गरिदैछ । सप्तरीका १८ स्थानीय तहमध्ये १३ वटालाई अति संवेदनशील सूचीमा राखिएको एसपी मुकेश सिंहले बताए । सप्तरीमा दुई सय ९५ मतदानस्थल छन्, जसमा दुई सय ६ वटालाई अति संवेदनशील र बाँकी ८९ वटालाई संवेदनशीलमा राखिएको छ । धनुषामा दुई सय २२ वटा अति संवेदनशील र बाँकी एक सय पाँचवटालाई संवेदनशीलमा राखिएको छ । महोत्तरीमा एक सय ३५ अति संवेदनशील, ९७ संवेदनशील तथा २६ वटा सामान्य मतदान केन्द्रमा परेका छन् ।

 

सर्लाहीमा एक सय ४१ अति संवेदनशील, एक सय ५१ संवेदनशील तथा २५ वटा सामान्य मतदानस्थल रहेको संघीय प्रहरी एकाइ जनकपुरका एसएसपी सुभाषचन्द्र चौधरीले बताए । संघीय प्रहरी एकाइ वीरगन्जका प्रमुख एसएसपी सूर्यप्रसाद उपाध्यायका अनुसार पर्सामा ७३, बारामा ६६ तथा रौतहटमा ८२ वटा मतदानस्थल सुरक्षाको दृष्टिकोणले संवेदनशीलको सूचीमा छन् । त्यस्तै, पर्सामा ८९, बारामा एक सय २९ र रौतहटमा ८७ संवेदनशीलको सूचीमा छन् ।

 

पर्साका १५, बाराका एक सय नौ र रौतहटका ८७ मतदानस्थल सामान्य वर्गमा छन् । पर्सामा एक हजार प्रहरी कार्यरत रहेकोमा दुई हजार पाँच सय थप गरिएको छ । त्यस्तै, बारामा तीन हजार पाँच सय तथा रौतहटमा ३२ सय नेपाल प्रहरीबाट खटिनेछन् । अति संवेदनशीलमा ११, संवेदनशीलमा नौ तथा सामान्य मतदानस्थलमा सातजना प्रहरी खटाउने सुरक्षा योजनामा उल्लेख छ ।

६० हजार सुरक्षाकर्मी खटिने

प्रदेश नं. २ को निर्वाचनमा करिब ६० हजार सुरक्षाकर्मी खटिनेछन् । जसमध्ये निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी हुनेछ । आठ जिल्लामा पहिलेदेखि नै करिब १० हजार प्रहरी कार्यरत रहेकोमा १८ हजार थप गरिएको छ । त्यस्तै, १७ हजार सेना निर्वाचनमा खटिने सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले बताए ।

 

सैनिक चुनावी सुरक्षामा खटिन थालिसकेको उनको भनाइ छ । त्यस्तै, १५ हजार तीन सय ५० सशस्त्र प्रहरी प्रदेश नं. २ को निर्वाचनमा खटिएको सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजु अर्यालले बताए । निर्वाचनमा सुरक्षाकर्मी थपिन सक्ने गृहप्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् । सुरक्षाकर्मी नै पर्याप्त भएकाले तेस्रो चरणको स्थानीय निर्वाचनमा म्यादी प्रहरी भर्ना गरिएको छैन ।

 

दलहरूको अस्वस्थ प्रतिस्पर्धा मुख्य सुरक्षा चुनौती

निर्वाचनमा हुनसक्ने दलरूबीचको अस्वस्थ प्रतिस्पर्धालाई मुख्य सुरक्षा चुनौतीका रूपमा औँल्याइएको छ । ‘केही दलहरूले विपक्षीलाई निषेधको राजनीतिसमेत सुरु गरेका छन्,’ आइतबारको सुरक्षा गोष्ठीमा सहभागी एक एसपीले भने, ‘यस्तो अवस्थामा दुई दलबीच हुन सक्ने झडपका घटना नै हाम्रो मुख्य सुरक्षा चुनौती हो ।’

 

दोस्रो चुनौतीका रूपमा खुला सिमाना र साना हतियारलाई लिइएको छ । खुला सिमानाका कारण निर्वाचनमा अपहरण तथा गोली हान्ने घटना हुनसक्ने भएकाले त्यसलाई रोक्न विशेष रणनीति बनाइएको छ । सीमा क्षेत्रको सुरक्षामा विशेष चासो राख्न सशस्त्र प्रहरीलाई निर्देशन दिइएको छ । साथै, साना हतियारको ओसारपसार रोक्न चेकिङ र गस्ती बढाइएको छ । लाइसेन्सप्राप्त हतियार भने प्रहरीले निर्वाचन अवधिभरका लागि बुझाउन निर्देशन दिइसकेको छ । सबै किसिमका सुरक्षा चुनौतीको विश्लेषण गरेर आफूहरूले सुरक्षा योजना बनाई लागू गरिएको प्रदेश नं. २ का प्रहरी प्रमुख एआइजी विजयलाल कायस्थले बताए ।

 

त्यस्तै, बाढीले कतिपय गाउँ पुग्ने सडक बिग्रिएकाले त्यसलाई पनि चुनौतीका रूपमा औँल्याइएको छ । मतदाता परिचयपत्रमा समेत चलखेल हुन सक्ने आशंका गरिएको छ । मौसम पनि आफूहरूको लागि ठूलो चुनौती बनेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् । पानी अझै परिरहेकाले निर्वाचनको तयारीमा समस्या भएको उनले बताए ।

 

कर्मचारी नै सुरक्षा चुनौती !

निर्वाचनमा खटिने कर्मचारीलाई समेत सुरक्षा चुनौतीका रूपमा औँल्याइएको छ । ‘कतिपय कर्मचारी पार्टीनिकट ट्रेड युनियनमा आबद्ध छन्,’ एक प्रहरी अधिकारी भन्छन्, ‘निर्वाचनमा उनीहरूले आफूनिकट पार्टीको पक्षमा काम सक्ने र त्यसले ठूलो विवाद निम्त्याउन सक्ने भएकाले त्यसमा पनि हामीले ध्यान दिएका छौँ ।’ कर्मचारी मात्र होइन, तल्लो तहका केही प्रहरीले समेत त्यस्तो गतिविधि देखाउन सक्ने भएकाले निगरानीमा राख्न निर्देशन दिइएको छ ।

 

जनकपुरमा हेलिकोप्टर ‘स्ट्यान्डबाई’

निर्वाचनका क्रममा कतै समस्या भएमा थप सुरक्षाकर्मी ओसार्न तथा जनकपुरमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिने योजना छ । जनकपुरस्थित नेपाली सेनाको पृतनामा हेलिकोप्टर राख्न लागिएको हो । कुनै स्थानबाट मतपेटिका ओसार्न पनि हेलिकोप्टर प्रयोग गर्न सकिने सेनाले जनाएको छ ।

 

बजेट नपुग्दा सुरक्षा तयारीमा समस्या

निर्वाचन आउन दुई साता मात्र बाँकी छ । तर, सुरक्षा निकायलाई निर्वाचनका लागि बजेट गएको छैन । बजेट नआउँदा साधन–स्रोतमा समस्या भइरहेको गुनासो आइतबार प्रहरी अधिकारीहरूले गरेका छन् । प्रक्रियागत समस्याका कारण बजेट जान ढिला भएको शुक्रबारभित्रै बजेट पुग्ने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । ‘स्रोत–साधनमा कुनै समस्या हुन दिँदैनौँ,’ उनले भने, ‘बजेट पठाउने प्रक्रियामै छौँ ।’ गाडी भाडामा लिनदेखि सुराकी तथा थप इन्धनका लागि चुनावमा अतिरिक्त बजेट पठाइन्छ । त्यसका लागि खाजा खर्च र चुनाव भत्तासमेत दिने गरिन्छ । निर्वाचनमा खटिने सुरक्षाकर्मीले एक साता दिनको पाँच सय रुपैयाँका दरले भत्ता पाउँछन् ।

 

चारवटा समूह निगरानीमा

प्रदेश नं. २ को निर्वाचनमा चारवटा समूहलाई निगरानी सूचीमा राखिएको छ । तराईमा लामो समयदेखि भूमिगत रूपमा सशस्त्र गतिविधि गर्दै आएका जनतान्त्रिक मुक्ति मोर्चाका ज्वाला र गोइत समूहलाई निगरानीमा राखिएको छ । दुवै समूह सिरहा तथा सप्तरीमा सक्रिय छ । त्यस्तै, सिके राउत र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई समेत निगरानीमा राखिएको छ । अहिलेसम्म चारै समूहबाट चुनावविरोधी घटना भएका छैनन् । सिके राउतले आफ्ना कार्यकर्तालाई चुनाव भाँड्न नभई चुनाव चिह्नको बाहिर भोट हालेर चुनाव बहिष्कार गर्न निर्देशन दिएको छ ।

 

चार समूह निगरानीमा

प्रदेश नं. २ को निर्वाचनमा चारवटा समूहलाई निगरानी सूचीमा राखिएको छ । तराईमा लामो समयदेखि भूमिगत रूपमा सशस्त्र गतिविधि गर्दै आएका जनतान्त्रिक मुक्ति मोर्चाका ज्वाला र गोइत समूहलाई निगरानीमा राखिएको छ । दुवै समूह सिरहा तथा सप्तरीमा सक्रिय छन् । त्यस्तै, सिके राउत र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई समेत निगरानीमा राखिएको छ । अहिलेसम्म चारै समूहबाट चुनावविरोधी घटना भएका छैनन् ।

 

३१ हजार कर्मचारी परिचालन हुने

निर्वाचन आयोगले प्रदेश नं. २ को १३६ स्थानीय तहमा करिब ३१ हजार कर्मचारी परिचालन गर्दै छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आठ जिल्लामा हुने निर्वाचनमा ३ हजार ५७८ मतदान केन्द्र छन् । ती मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित कम्तीमा सातजनाका दरले खटिनेछन् । त्यसैगरी, करिब ३५ सय मतदाता शिक्षा कार्यकर्ता खटाइएका छन् । निर्वाचन अवधिमा करिब १५ सय स्वयंसेवक परिचालन गरिनेछ ।

नवराज मैनालीले आजको नयाँ पत्रिकामा समाचार लेखेका छन्

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);