काठमाडौं, १ बैशाख । हालेखापरीक्षकले नेपालका टेलिकम कम्पनीको नाफा अत्यधिक भएको बताएको छ। कम्पनीहरूले उपभोक्ताबाट चर्को शुल्क असुल्दै अधिक नाफा कमाएको भन्दै त्यसमा नियमकारी निकायले ध्यानदिनुपर्ने प्रतिवेदनमा सुझाव छ।
महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा विश्वमा टेलिकम सेवाको मूल्य निरन्तर कमी आए पनि नेपालमा त्यसअनुसार मूल्य समायोजन हुन नसकेको औंल्याइएको छ । महालेखापरीक्षकको प्रतिवेदनले अमेरिका, युरोप, जर्मनी, चीन, मलेसिया, भारत र नेपालका विभिन्न टेलिकम अपरेटरको सञ्चालन नाफाको तुलनात्मक विश्लेषण अध्ययन गरेको देखिन्छ।
अध्ययनमा नेपाली टेलिकम अपरेटरले चर्को सेवा शुल्क लिएर अधिक नाफा आर्जन गरेको तथ्यांक प्रतिवेदनमा प्रस्तुत गरिएको छ। ‘विश्वका विभिन्न मुलुकका दूरसञ्चार सेवा प्रदायकको सञ्चालन नाफाको विश्लेषण गर्दा अन्य देशको सञ्चालन नाफा २४ देखि ३७.८ प्रतिशतसम्म रहेकामा नेपालका सेवा प्रदायकको सञ्चालन नाफा ५८ देखि ६२ प्रतिशतसम्म रहेकाले ती सेवा प्रदायकले प्रदान गर्ने सेवाको मूल्य निर्धारणमा नाफाको अंश अधिक छ ।’ भनी प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।