फोर्ड बिक्रेताको ठगी प्रकरण, फ्रिस्टाइल टाइटानियममा २९ प्रतिशत बढी असुली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

फोर्ड बिक्रेताको ठगी प्रकरण, फ्रिस्टाइल टाइटानियममा २९ प्रतिशत बढी असुली

car

काठमाडौं, १९ बैशाख । नेपालमा फोर्ड कम्पनीको गाडी बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले नयाँ गाडी सार्वजनिक गरेकै दिन उपभोक्तासँग २९ प्रतिशत बढी गैरकानुनी नाफा लिएर बिक्री सुरु गरेको छ । सरकारको फितलो अनुगमन र कारबाही प्रक्रियाको फाइदा उठाउँदै जीओ अटोमोबाइल्सले मंगलबार सार्वजनिक गरेको ‘फ्रिस्टाइल टाइटानियम’ गाडी लागत मूल्यभन्दा ६ लाख ७० हजार रुपैयाँ बढी लिएर बिक्री सुरु गरेको हो ।

सवारीसाधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले फोर्डका सबै मोडलका गाडीमा चर्को शुल्क असुल्दै आए पनि विभागीय मन्त्रीको मौनताको फाइदा उठाउँदै नयाँ गाडीमा समेत पहिलो दिनबाटै उपभोक्ता ठगी सुरु गरेको हो ।

मंगलबार सार्वजनिक भएको फोर्ड कम्पनीको ‘फ्रिस्टाइल टाइटानियम’ गाडीमा जीओ अटोमोबाइल्स प्रालिले २९ प्रतिशत अतिरिक्त शुल्क राखी मूल्य निर्धारण गरेको भेटिएको हो । २३ लाख २९ हजार ६७९ रुपैयाँ पर्ने गाडीलाई उसले २९ लाख ९९ हजार रुपैयाँमा बेच्न सुरु गरेको छ । कायम बिक्री मूल्यअनुसार प्रतिगाडीबाट उसले उपभोक्तालाई ६ लाख ६९ हजार ३२१ रुपैयाँ खुद नाफा लिएर ठगी गरेको छ । यो कुल लागत मूल्यभन्दा २९ प्रतिशत बढी नाफा हो ।

कालोबजारी तथा अन्य केही अपराध तथा सजाय ऐन, २०३२ अनुसार व्यापारीले कुनै वस्तुको बिक्री गर्दा उक्त वस्तुको कुल मूल्यमा २० प्रतिशतभन्दा बढी शुल्क लिएर बिक्री गर्न पाउँदैन । २० प्रतिशतभन्दा बढी नाफा लिए कानुनी रूपमा ठगीजन्य अपराध मानिने प्रावधान भए पनि उसले २९ प्रतिशत नाफा लिएर खुलेआम बिक्रीमा राखेको छ ।

यसअघि सार्वजनिक गरिएका गाडीमा समेत उसले ४० प्रतिशतसम्म नाफा लिएर बिक्री गर्दै आएको छ । यसअघि ‘इकोस्पोर्ट फोर्ड’ १ दशमलव ५ लिटर पेट्रोल गाडी, ‘फिगो एस्पार ट्रेन्ड’ र ‘इकोस्पोर्ट टाइटानियम’ गाडीको बिक्रीमा कम्पनीले उपभोक्ताबाट चर्को मूल्य असुल गर्ने गरेको तथ्य बाहिर आइसकेको छ ।
जीओ अटोमोबाइल्स प्रालिका निर्देशक आकाश गोल्छाले भने बढी मूल्य लिएको पुष्टि गर्न चुनौती दिएका छन् । बढी मूल्य लिएर बिक्री गरेको विभिन्न कागजातले पुष्टि गरे पनि अनुगमन गर्नुपर्ने निकाय र विभागीय मन्त्री तथा सचिवसम्मलाई प्रभावमा पारेर कम्पनीले उल्टै ठगी पुष्टि गर्न चुनौती दिएको हो ।

मंगलबार मात्र सार्वजनिक भएको फ्रिस्टाइल टाइटानियम गाडीमा २९ प्रतिशत बढी शुल्क राखी मूल्य निर्धारण गरिएको नभई खरिद प्रक्रियामा देखिएका बिल बिजकले मूल्य निर्धारण भएको गोल्छाको भनाइ छ ।

जीओ अटोमोबाइल्स कम्पनीको ठगीबारे सरकार र सम्बन्धित निकाय अनविज्ञ भने छैनन् । साबिकको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा जीओ अटोमोबाइल्स कम्पनीले बेच्ने गाडीको मूल्यमा चर्को मूल्य असुल्ने गरेको भेट्टाएको थियो । तर, आपूर्ति विभागले तयार पारेको अनुगमनका फाइल भने कारबाहीको प्रक्रियामा अघि बढ्न सकेको छैन ।

ठूला व्यापारीको ठगी धन्दाका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला समन्वय समिति, आन्तरिक राजस्व विभाग, सरकारी वकिलको कार्यालय, प्रहरी प्रशासनलगायत सरकारी निकायहरू जानकार छन् । तर, ठगी तथा कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा तिनै व्यापारीको दबाबका कारण बजार अनुगमनमा फाइलसमेत अघि बढ्न सकेको छैन ।

आपूर्तिमन्त्री मात्रिका यादवले ठगी तथा कालोबजारी गर्ने जोकोही पनि कारबाहीको दायरामा आउने अभिव्यक्ति दिँदै आएका छन् । तर, बजारमा आएकै दिन ठगी गर्नेमाथि कारबाही गर्न उनले कुनै चासो देखाएका छैनन् ।

अनुगमनका क्रममा देखिएका कैफियतलाई चाँडै कारबाहीको प्रक्रियामा ल्याई बजार अनुगमन कार्यलाई तीव्रता दिने मन्त्री यादवको भनाइ छ । कालोबजारी तथा अन्य केही अपराध तथा सजाय ऐन, २०३२ अनुसार अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर वस्तु बिक्री गरेको भेटिएमा कालोबजारी गरेको ठहरिन्छ ।

उक्त ऐनअनुसार माल वस्तुको उत्पादक, आयातकर्ता वा मुख्य वितरकले निर्धारित गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै मालवस्तु बिक्री गरेमा सो माल सामान लिएको मोल फिर्ता गराई सो मालवस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद हुने व्यवस्था छ । त्यसैगरी यस्तो कार्यमा संलग्न व्यक्ति र संस्था तथा कम्पनीलाई जरिमानासमेत हुने कानुनी प्रावधान छ । आजको राजधानी दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);