निगमले चैतको किस्ता पनि बुझाउन नसक्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निगमले चैतको किस्ता पनि बुझाउन नसक्ने

wide body NAC

काठमाडौं, १ बैशाख । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको साँवा–ब्याजबापत बुझाउनुपर्ने चैतको किस्ता पनि तिर्न नसक्ने भएको छ। निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण ३७ अर्ब ५८ करोड रुपैयाँ छ।

ऋणको साँवा–ब्याजको किस्ता १५ वर्षसम्म तीन–तीन महिनामा बुझाउने सर्त छ। निगमले दुई वाइड बडीको ८० करोड ४२ लाख र दुई न्यारो बडीको ३३ करोड नौ लाख रुपैयाँ गरी एक किस्तामा एक अर्ब १३ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ।

निगमले पुसको किस्ता पनि पूरै तिरेको छैन। निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार एक अर्ब १३ करोडमध्ये करिब ४४ करोड रुपैयाँ पुसमा तिरेको थियो। यसैगरी, चैतको किस्ता पनि निगमले पूरै नतिरेर जति आम्दानी भएको छ, त्यत्तिमात्रै तिर्ने तयारी गरेको छ।

निगम एक अधिकारीका अनुसार निगमले चैतको किस्ताबापत पनि अघिल्लोमा जस्तै ४० देखि ५० करोड रुपैयाँमात्रै बुझाउने तयारी गरेको छ। यो भनेको तिर्नुपर्ने किस्ताको आधाभन्दा पनि कम रकम हो। किस्ता तिर्न नसकेपछि निगमले सरकारसँग पाँच अर्ब रुपैयाँ माग गरेको छ। निगम धराशयी बन्दै गएको भन्दै यसअघि २० अर्ब रुपैयाँ उपलब्ध गराउन सरकारसँग अनुरोध गरिएको थियो।

सरकारले २० अर्ब दिन अस्वीकार गरेपछि निगमले पाँच अर्ब भए पनि दिन अनुरोध गरेको छ। सोही पाँच अर्ब सरकारले दिएपछि जहाजको किस्ता तिर्ने तयारीमा निगम छ। सहप्रवक्ता कोइरालाका अनुसार यस विषयमा सरकारसँग वार्ता भइरहेको छ। सरकारसँगै ऋणदातासँग पनि छलफल भइरहेको निगमले बतायो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);