अन्तत: नेसनल मेडिकल कलेजको सम्बन्धन स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौँ, १८ भदौ । चौतर्फी दबाबपछि त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगन गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को शनिबार बसेको आकस्मिक बैठकले कलेजको सम्बन्धन हाललाई स्थगन गरेको हो।

 

स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिले काठमाडौं नेसनलको शिक्षण अस्पताल वैध नभएको भनी प्रतिवेदन दिएपछि त्रिविले सम्बन्धन स्थगन गर्ने निर्णय गरेको हो । गत साउन १२ को परिषद् बैठकले काठमाडौं नेसनललाई सम्बन्धन दिएको थियो।

 

शनिबारै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तावित कलेजको शिक्षण अस्पताल पनि बन्द गराउने निर्णय गरेका छन् । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उपकुलपति तीर्थ खनियाँलाई बोलाएर कलेजको सम्बन्धन खारेज गर्न निर्देशन दिँदै नभए तत्काल बर्खास्त गर्ने चेतावनी दिएपछि खनियाँले कार्यकारी परिषद्को आकस्मिक बैठक बोलाएका थिए।

 

बैठकबाट उनले कलेजका सम्बन्धमा छानबिन गर्न समिति गठन गरी हाललाई कलेजको सम्बन्धन स्थगन गर्ने निर्णय गराएका हुन् । त्रिविले सञ्चार माध्यमबाट आएका टीकाटिप्पणीका सम्बन्धमा ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०’ बमोजिम भएरनभएको बारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरिएको जनाएको छ।

 

प्रधानमन्त्री देउवाले आफू भारत भ्रमणमा जानुअघि नै छानबिन समिति बनाएर खारेजीको प्रक्रिया अघि बढाउन निर्देशन दिए पनि कार्यान्वयन नभएको भन्दै खनियाँसँग आक्रोश व्यक्त गरेका थिए । खनियाँले भने सर्वोच्च अदालतको आदेशको अपव्याख्या गरी सम्बन्धनको निर्णयको प्रतिरक्षा गरेका थिए।

 

‘डा. गोविन्द केसीले उठाएका माग पूरा गर्न चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित नभएसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिन प्रधानमन्त्रीज्यू स्पष्ट हुनुहुन्छ,’ प्रेस संयोजक गोविन्द परियारले भने, ‘नेसनलको सम्बन्धनको विषयमा पनि छानबिन समिति बनाउन दुई पटक निर्देशन दिइसक्नुभयो।’

 

प्रधानमन्त्रीको शनिबारको निर्देशनपछि मात्रै विश्वविद्यालयले समिति गठन गरेको हो । सम्बन्धन खारेजी र निर्णयमा संलग्नमाथि कारबाहीको माग राखी डा. केसीले भदौ २१ देखि अनशन बस्ने घोषणा गरेका छन् । तर त्रिविका एक कार्यकारी सदस्यले भने प्रमुख दलका नेताहरू तथा प्रधानमन्त्री र शिक्षामन्त्रीको निर्देशनमा सम्बन्धन दिएको बताएका थिए। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);