काठमाडौ, २८ चैत । काठमाडौंमा ‘अन्तराष्ट्रिय मिडिया सम्मेलन’ सुरु भएको छ । नेपाली मिडियाको आगामी १० वर्षको भावी योजना तय गर्ने उद्देश्यका साथ बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सुरु गरिएको हो ।
भारत, बंगलादेश, पाकिस्तानलगायत विभिन्न देशका मिडियाकर्मीहरु समेतको सहभागिता रहेको सम्मेलनमा नेपाली मिडियाको विकासका लागि आवश्यक अन्तर्राष्ट्रिय अनुभवको समेत आदानप्रदानका लागि विस्तृत छलफल हुने कार्यक्रम पनि तय गरिएको एकेडेमी अफ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका कार्यकारी निर्देशक डम्बर साहूले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ, मिडिया सोसाईटी अफ नेपाललगायतका संघसंस्थाहरुसँगको सहकार्यमा आयोजना गरिएको ३ दिने सम्मेलनमा मिडिया क्षेत्रका लागि आवश्यक नयाँ प्रविधिका विषयमा पनि छलफल हुनेछ । सम्मेलनमा मिडिया क्षेत्रका अनुसन्धानमूलक सामग्रीहरुको पनि प्रदर्शनी गरिएको छ ।