झापा, २७ चैत । झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देनले आफुलाई ज्यान मार्ने धम्की दिने व्यक्ति र प्रकरणबारे अनुसन्धान गर्न माग गरेका छन् ।
झापाको बिर्तामोडमा बुधबार आयोजित पत्रकार भेटघाटमा लिङ्देनले घटनामा संलग्न, त्यसको प्रयोजन र कनेक्सन समेत खुल्नेगरी अनुसन्धान गरिनुपर्ने माग गरेका हुन् । एक सातादेखि अज्ञात व्यक्तिले ज्यान मार्न सुपारी लिएको भन्दै फोन आइरहेको विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलन गरेर उनले सत्यतथ्य बाहिर ल्याउन माग गरे ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले घटनामा संलग्न भएको आरोपमा लिङ्देनकै निर्वाचन क्षेत्रमा रहेको कचनकवल गाउँपालिका २ झापाका तिलकदास पराजुली र हुम्लाका प्रदिप रोकालाई पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।