काठमाडौं, २५ चैत । संसदीय समितिले बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन सबै प्रदेशमा ‘प्रि बजेट’ छलफल कार्यक्रम संचालन गर्ने भएको छ । संघीय संसदको अर्थ समितिको सोमबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारलाई आवश्यक सुझाव दिन प्रदेश स्तरीय ‘प्रि बजेट’ छलफल कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।
जनताको अपेक्षा अनुसार बजेट निर्माणका लागि सरकारलाई आवश्यक सुझाव दिन सबै प्रदेशमा प्रि बजेट कार्यक्रम संचालन गर्ने निर्णय गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।
समितिले प्रि बजेट छलफलको क्रममा बिभिन्न प्रदेशमा रहेका राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुगमन गरी त्यसलाई छिटो सम्पन्न गर्न पनि सरकारलाई आवश्यक सुझाव दिने योजना बनाएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संघीय संसदमा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही बजेटलाई जनताको अपेक्षा अनुसार निर्माण गर्न अर्थ समितिले आवश्यक सुझाव दिन प्रदेश स्तरीय प्रि बजेट छलफल कार्यक्रम गर्न लागेको हो । प्रि बजेट छलफलमा प्रदेश सरकार, प्रदेशका सांसदहरु, विज्ञहरुसहितको उपस्थिति हुने पनि समितिले जनाएको छ ।




