आईपीएल: आरसीबीविरुद्ध दिल्लीको सहज जित, सन्दीपले बनाए रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८३, सोमबार

आईपीएल: आरसीबीविरुद्ध दिल्लीको सहज जित, सन्दीपले बनाए रेकर्ड

Sandeep-l-IPL

काठमाडौं, २५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटलले सहज जित निकालेको छ ।

टस जितेर फिल्ड रोजेको दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चार विकेटको जित निकालेको हो। पहिलो ब्याटिङ गरेको बैंग्लोरले ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो। १५० रनको लक्ष्य पछ्याएको दिल्लीले ७ बाँकी हुँदा जित दर्ता गरेको हो । दिल्लीका लागि श्रीयश ऐरले ५० बलमा दुई छक्का र ८ चौकाको मद्दतामा सर्वाधिक ६७ रन बनाए। दिल्लीका लागि पृथ्वी शाले २२ बलमा २८ रन बनाए। कोलिन इनग्रामले २१ बलमा २२ रन बनाए भने ऋषव पन्तले १४ बलमा १८ रन बनाए ।

आइतबारको खेलमा दिल्लीको जितसँगै नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टीट्वेन्टी क्रिकेटमा ५० विकेटको कोसेढुंगा पूरा गरेका छन् । भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार रोयल च्यालेन्जर्स बैंग्लोरका मोइन अलीको विकेट लिँदै सन्दीपले यो कोसेढुंगा पूरा गरेका हुन् ।

निकै आक्रामक देखिएका अलीलाई विकेट किपर ऋषव पन्तबाट स्टपम्पिङ गराउँदै सन्दीपले टीट्वेन्टीमा ५० विकेट पूरा गरेका हुन्। अलीले १८ बलमा तीन छक्काको मद्दतमा ३२ रन बनाए । बैंग्लोरविरुद्ध चार ओभर बलिङ गर्दै सन्दीपले ४६ रन खर्चेर एक विकेट लिए।

सन्दीपले ४० टीट्वेन्टी खेल्दै ५० विकेट लिएका हुन्। गत सिजन आईपीएलबाट अन्तर्राष्ट्रिय फेन्चाइज क्रिकेटमा डेब्यु गरेका सन्दीपले एक वर्षमै ५० विकेट पूरा गरेका हुन्। उनले विश्वभरका विभिन्न लिग खेलिसकेका छन्। अघिल्लो आईपीएलमा तीन खेलबाट पाँच विकेट लिएका उनले यस पटक चार खेल खेल्दै पाँच विकेट नै लिएका छन्। यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा लेखेको छ ।

सन्दीपले अस्ट्रेलियाको बिग बास लिगमा सात खेल खेल्दै ११ विकेट लिएका थिए। यस्तै क्यारेवियन प्रिमियर लिग, बंगलादेश प्रिमियर गिल, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगलगायतमा पनि लगतार विकेट लिएका थिए। सन्दीपको टीट्वेन्टीमा ६.८४ को बलिङ इकोनमी छ। उनले पाकिस्तान सुपर लिगमा १० रन खर्चेर चार विकेट लिएका थिए। यो नै उनको टीट्वेन्टीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो।