ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्ला ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्ला ओझेलमा

amarghadhi killa

बिमल जैरु

डडेल्धुरा, २४ चैत  । डडेल्धुरा जिल्लाको सदरमुकाममा रहेको अमरगढी नगरपालिका–५ खलंगामा रहेको ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्ला ओझेलमा पर्न थालेको छ । उचित सरंक्षणको अभावमा जीर्ण बन्दै जाँदा र ऐतिहासिक हतियार समेत हराउन थालेपछि ऐतिहासिक किल्ला ओझेलमा पर्न थालेको हो ।

सुुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको केन्द्रबिन्दुमा रहेको डडेल्धुरा सदरमुकामको अगरगढी नगरपालिका– ५ खलंगामा रहेको अमरगढी किल्ला प्रदेशकै ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । पर्यटकीय क्षेत्र भएर पनि संरक्षणको अभावमा अमरगढी किल्ला अहिले दिनप्रतिदिन जीर्ण बन्दै गएको छ ।

संरक्षण नहुँदा किल्लामा रहेका ऐतिहासिक हतियार पनि हराउन थालेको छ । हतियार हराउंदा किल्लाको महत्व पनि घट्दै गईरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरु पुर्खाले निर्माण गरेको ऐतिहासिक किल्ला अवलोकनका लागि पुग्ने छन् । भ्रमणमा आउने पर्यटकहरुले यस्तो महत्व बोकेको किल्लाको पर्याप्त सरंक्षणको अभाव देखिएको बताउँछन् ।

अमरगढी किल्लामा रहेका ऐतिहासिक हातहतियार तोप, गोला, वारुद, खुडा, भाला, भोटेताल्चा किल्लामा नरहेको दशकौँ भएको छ । किल्लामा रहेका ऐतिहासिक हातहतियार नहुँदा किल्लाको महत्व समेत घट्दै गएको छ । । किल्ला वरिपरि सडक निर्माण कार्य गर्दा किल्ला भाँसिएको र यसको पुननिर्माणको अति जरुरी भएको अमरगढी किल्ला व्यवस्थापनका अध्यक्ष प्रबिन जैरुले बताए ।

समुद्री सतहबाट यस किल्लाको उचाइ लगभग छ हजार ५०० फिट रहेको छ । तत्कालिन बडाकाजी अमर सिंह थापाको पालामा स. १८४७ मा कर्णाली पारीको राज्य संचालनका साथै महाकाली पारी कुमाउ आक्रमण गर्दाका समयमा डोटी राज्य संचालनका लागि किल्ला निर्माण भएको थियो । ऐतिहासिक महत्व बोकेको किल्लाको पर्खालमा लगाइएका कलात्मक ढुंगाहरु खस्न थालेका छन भने काठ कुहिन थालेका छन् ।

किल्ला मर्मतका लागि भन्दै वर्षेनी लाखौं रुपैयाँ खर्च हुने गरेको भएपनि सरंक्षणको कार्यहरु भएको देखिदैन । तर अमरगढी नगरपालिकाले भने अमरगढी किल्लाको मर्मत सम्भारदेखि संरक्षणका लागि गुरुयोजना निर्माण भईरहेको जनाएको छ ।

अमरगढी किल्लामा रहेका ऐतिहासिक तथा पुरात्तात्विक महत्वका सामाग्रीहरु हराउँदै जांदा अहिले स्थानीय चिन्तामा देखिन्छन् । पुर्खाको ईतिहाससंग जोडिएको यो किल्लालाई मर्मत संभार गर्नुका साथै किल्ला भित्र रहेका ऐतिहासीक सम्पदाको खोजविन गरी संरक्षणमा गर्नुपर्नेमा स्थानीयको जोड छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);