काठमाडौं, १८ चैत – भारतमा जारी आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा चेन्नाई सुपर किङ्सले लगातार तेस्रो जित हात पारेको छ ।
आइतवार राती भएको खेलमा राजस्थान रोयल्सलाई ८ रनले पराजित गर्दै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । चेन्नईले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि बेन स्टोक्सले ४६ रन तथा राहुल त्रिपाठीले ३९ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित ७५ रनको योगदान दिए ।जितसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले ३ खेलबाट ६ अंक जोडेको छ । राजस्थानको भने यो लगातार तेस्रो हार हो ।आईपिएल क्रिकेटमा हिजै भएको अर्को खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरमाथि एक सय १८ रनको फराकिलो जित हासिल गरेको छ ।