बाजुरा, १६ चैत । ‘नमस्ते संघको सरकार, मेरो गाउँपालिकामा त भुक्तानी रोकियो, के गरूँ? कि मै नियुक्ति गरूँ? पछि रिसाउने त होइनौ नि? कि छिटै प्रमुख प्रशासकीय अधिकृत र लेखापाल पठाइदेऊ, हैन भने आर्थिक प्रशासनिक नियमावली र स्थानीय सरकार सञ्चालन ऐन संशोधन गर, म आफैं कर्मचारी नियुक्ति गर्छु’, विकट बाजुराको दुर्गम गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले आजित भएर फेसबुकमा स्टाटस हाले।
गौमूल गाउँपालिका अहिले एकजना सुब्बाले चलाएका छन्। प्रमुख प्रशासकीय अधिकृत्त टंक खनाल समायोजनमा फागुन ८ गते रमाना लगेर गए। बाँकी रहे तिनै एक सुब्बा मात्रै।
आउने कर्मचारीहरूको कुनै खबर नभएको रोकायाले बताए। गाउँपालिकामा एकजना पनि सचिव छैन। जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्तालगायत पञ्जीकरणसम्बन्धी काम पनि ठप्प भएका छन्। ‘सचिव नै छैनन्, कसरी पञ्जीकरणका काम गर्नु? ’, गौमूल गाउँपालिका– १ का वडाध्यक्ष बलबहादुर रोकायाले भने। वडा नं १ बाट गाउँपालिकाको केन्द्र पुग्न एक दिन पैदल यात्रा गर्नुपर्छ।
कर्मचारी नभएका कारण फागुनमा खोलिएको ८ करोडको कार्यालय भवनको ठेक्का सम्झौता हुन नसकेको रोकायाले बताए। ‘निर्माण व्यवसायीले सम्झौताका लागि फागुन २४ गते नै सबै कागजात बुझाइसकेको छ, तर प्रमुख प्रशासकीय अधिकृत छैनन्, के गर्ने? ’, उनले भने।
गौमूल गाउँपालिकाका ३३ योजनामध्ये सडकका तीनबाहेक ३० वटा सम्पन्न भइसकेर भुक्तानीका लागि आएका छन्। ‘तर लेखापाल र प्रमुख प्रशासकीय अधिकृत नभएकाले त्यो भुक्तानी हुन सकेको छैन। त्यसैले पनि आजित भएर सामाजिक सञ्जालमा स्टाटस हालेको हुँ’, गाउँपालिका प्रमुख रोकायाले भने।
बाजुराकै जगन्नाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समायोजनमा आफ्नै जिल्ला गुल्मी सरुवा भए। गाउँपालिकाभरि एकजना मात्र सचिव गोकर्ण विष्ट थिए, उनको पनि सरुवा भएपछि गाउँपालिका सचिवविहीन बनेको छ। ‘भएका एकजना सहलेखापालको पनि सरुवा भएपछि योजनाहरूको भुक्तानी रोकिएको छ’, गाउँपालिकाका प्रवक्ता डबल विकले भने।
गाउँपालिकाभरि चारजना कर्मचारी छन्। ‘भएका कर्मचारी समायोजन भएर जान थाले, आउनेको टुंगो छैन’, प्रवक्ता विकले भने। जनताका काम प्रभावित नहुने गरेर सचिव गोकर्ण विष्टको रमाना रोकिएका छ। ‘कर्मचारी ल्याउन भनेर गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाही काठमाडौं जानुभएको छ’, उनले भने।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।