काठमाडौं, १२ चैत । काठमाडौंको सडक धुलोमुक्त बनाउन मंगलबारदेखि काठमाडौं महानगरपालिकाकाले पाँच वटा ब्रुमर संचालन गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी काठमाडौंको सडक धुलोमुक्त बनाउन इटालीबाट खरिद गरिएको नयाँ प्रविधिका ५ वटा ब्रुमर संचालन कार्यको शुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै उनले काठमाडौंको सडकलाई धुलोमुक्त बनाउन सबैलाई साथ र सहयोग गर्न पनि अपिल गरे । मेयर शाक्यले काठमाडौंको सडक धुलो र हिलोमुक्त बनाउन सडक विभाग, मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र वडा कार्यालयहरुसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरिएको जानकारी दिए ।
१ सय ७ किलोवाट क्षमता रहेको सो ब्रुमर ७ लाख ६२ हजार ४ सय ७० युरोमा इटालीबाट खरिद गरिएको हो । त्यसमा रहेको ४ वटा ब्रसले सडकको धुलोलाई सफा गर्नेछ । ती पाँच वटा ब्रुमर तत्कालका लागि रातिको समयमा ८ घण्टा संचालन गरिनेछ ।
५ वटा रुट भएर संचालन गरिने
काठमाडौंको टेकुबाट सो ब्रुमर ५ वटा रुट भएर संचालन गरिनेछ । रुट नम्बर एक अन्तरगत टेकुबाट सूरु हुँदै सोल्टीमोड, टेकु, त्रिपुरेश्वर, सुन्धरा, नयाँ सडक, महांकाल, जमल, लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, महाराजगंज हुँदै जमल, घण्टाघर भद्रकाली हुँदै सुन्धारासम्म बु्रमर संचालन गरिनेछ ।
त्यसैगरी रुट नम्बर २ अन्तरगत टेकुबाट सिंहदरबार, पुतलीसडक, कमलादी, बालुवाटारलगायतका स्थानमा बु्रमर संचालन गरिनेछ ।
रुट नम्बर ३ अन्तरगत टेकूबाट कमल पोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, गौशाला, एयरपोर्ट, सिनामंगल, चावहिलमा सञ्चालन गरिने छ ।
रुट नम्बर ४ अन्तरगत गौशला, बत्तिसपुतली, पुरानो बानेश्वर, मैतीदेवीलगायतका स्थापनमा ब्रुमर संचालन हुनेछ ।
रुट नम्बर ५ अन्तरगत टेकुबाट कलंकी, सितापाईला, बालाजु, ठमेल लगायतका स्थापनामा पनि ब्रुमर संचालन हुने काठमाडौं महानगरपालिकाकाले जनाएको छ ।