काठमाडौं, १२ चैत । सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबारको दक्षिणी गेट पुगेका इन्जिनियरहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।
सरकारले सेवा, सुविधावापतको रकम कटौति गरेको विरोधमा आन्दोलनरत पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले मंगलबार निषेधित क्षेत्र सिंहदरबारको दक्षिणी गेटस्थित सहरी विकास मन्त्रालय घेराउ गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको हो ।
प्रहरीको लाठी चार्जबाट आधा दर्जन बढि इन्जिनियरहरु घाइते भएका छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले लाठी चार्ज गरेकोमा इन्जिनियरहरुले आपत्ति जनाएका छन । इन्जिनियर विद्या बरालको आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन गरिएको आन्दोलनमाथि प्रहरीले दमन गरेको भन्दै निन्दा र भत्सर्ना गरेकी छिन् ।
पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले सेवा, सुविधा वापतको रकम कटौति गर्ने सरकारले निर्णय गरेपछि त्यसको विरोधमा एक साता यता पुनर्निर्माणको काम छोडेर काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । उनीहरुले खाईपाइ आएको सुविधा वापतको रकम कटौति नगर्न सरकारसँग माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका हुन् ।