राष्ट्रपति मादुरोको सहयोगमा रुसी सेना भेनेजुयलामा, अमेरिकाले ठूलोस्तरको रणनीतिक प्रतिक्रिया दिनसक्ने अनुमान | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रपति मादुरोको सहयोगमा रुसी सेना भेनेजुयलामा, अमेरिकाले ठूलोस्तरको रणनीतिक प्रतिक्रिया दिनसक्ने अनुमान

russia-army

केशव शर्मा

काठमाडौं, १२ चैत । राजनीतिक गतिरोध जारी रहेको भेनेजुयलामा वर्तमान राष्ट्रपति मादुरोको सहयोगका लागि रुसले सेना पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा मादुरोको सरकारलाई च्युत गर्नका लागि सैनिक कारवाहीको विकल्प खुला रहेको बताउँदै आएको समयमा रुसले आफ्नो सेना भेनेजुयला पठाएको हो ।

भेनेजुयलामा लामो समयदेखि सरकार विरोधी प्रदर्शन जारी रहेको छ । भेनेजुयलामा सरकार विरोधी प्रदर्शन जारी रहदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसका नेतृत्वकर्ता विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएका थिए । अमेरिकी राष्ट्रपतिले विपक्षी नेता गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिए लगत्तै अमेरिका निकटका देशहरुले समेत त्यहाका विपक्षी नेताको समर्थन गरेका थिए ।

तर चीन, रुस लगाएतका देशहरुले भने चुनाव जितेर आएका वर्तमान राष्ट्रपति मादुरोको समर्थन गर्दै आएका छन् । भेनेजुयलामा अमेरिकी सरकारले विपक्षीलाई सघाउदै आएको विरोधमा त्यहाको वर्तमान सरकार अमेरिकी कुटनीतिज्ञप्रति कठोर बन्दै गएको थियो । भेनेजुयलाको सरकार प्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिदै भेनेजुएलास्थित अमेरिकी कूटनीतिज्ञ वा विपक्षी नेता गोइदोविरुद्ध कुनै पनि प्रकारको हिंसा वा धम्की भए त्यो सह्य नहुने भन्दै भेनेजुएलामा मादुरोको सरकारलाई च्युत गर्नका लागि सैनिक कारवाहीको विकल्प खुला रहेको बताइरहेको समयमा रुसले राष्ट्रपति मादुरोको समर्थनमा सेना पठाएको हो ।

भेनेजुएलाको राजधानी कराकासमा रहेको अन्तराष्ट्रिय विमानस्थलमा रुसको इल्युशिन आईएल ६२ विमानमार्फत १ सय जनाभन्दा धेरै रुसी सैनिक भेनेजुयाला गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै रुसले अर्को एन्टोनोभ एन १२४ कार्गो विमानमार्फत् ३५ टनको सैनिक उपकरण समेत भेनेजुएला पठाइएको छ । भेनेजुयलामा मादुरोले राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकाल सम्मालेका छन् । निर्वाचनका क्रममा उनले धाँधली गरेको आरोप लाग्दै आएको छ । धाधली गरेको भन्ने भेनेजुयलाको विपक्षी दलको आरोपलाई अमेरिका लगाएतका देशहरुले समर्थन गर्दै आएका छन् ।

उता चिन लगाएतका देशले भने राष्ट्रपति मदुरोको समर्थन गरिरहेका छन् । भेनेजुयलामा मदुरोले शासनसत्ता सम्हालेसँगै केही बर्षयता आर्थिक संकटबाट गुग्रिरहेको छ । बढ्दो महंगी, खाना र औषधिको अभावमा लाखौं व्यक्ति भेनेजुयलाबाट पलायन भएका छन् । राष्ट्रपति मदुरोका समर्थकहरु पनि सडकमा उत्रिएका छन् । प्रदर्शनका क्रममा केही व्यक्तिको मृत्युसमेत भएको जनाइएको छ । भेनेजुयालाको सत्तापक्ष र विपक्षी दलको समर्थन र विरोधमा विश्वशक्ति राष्ट्रहरुले यसअघि वाकयुद्ध गर्दै आएका थिए । तर पछिल्लो समय राष्ट्रपति मादुरो तथा विपक्षी नेता गोइदोको समर्थनमा सैनिक समेत पुगेका छन् ।

यसअघि विपक्षी नेता गुइदोको आव्हानमा अमेरिकाले समेत सेना तथा खाद्यान्न पु¥याउने प्रयास गरेको थियो । राष्ट्रपति मादुरोको सेनाले अमेरिकी सामाग्रीलाई सिमा क्षेत्रमै रोकेको थियो । हालैमात्र रुसले भेनेजुयलामा सेना पठाएपछि त्यसलाई महत्वका साथ हेरिएको छ । दुई मुलुकले संयुक्त सैन्य अभ्यास गरेको ३ महिनापछि रुसले भेनेजुएलामा सेना पठाएको हो । गत डिसेम्बर महिनामा रुसले आणविक बम बोक्न सक्ने दुई टुपोलेभ टीयू १६० रणनीतिक बमवर्षक विमान पठाएर भेनेजुएलाको सेनासँग संयुक्त सैन्य अभ्यास गरेको थियो । लोकतान्त्रिक व्यवस्थालाई स्थापना गर्न भन्दै त्यहाँ सत्ता परिवर्तनलाई जोड दिइरहेका अमेरिकासहित पश्चिमा मुलुकले भेनेजुएलामाथि नाकाबन्दी लगाइरहेका बेला रुसले भेनेजुएलालाई आर्थिक तथा सैनिक सहयोग गर्दै आएको छ ।

रुसले भेनेजुएलामा सेना र सैनिक उपकरण पठाउनुलाई रुसले दक्षिण अमेरिकामा अमेरिकाको रणनीतिक सीमालाई जाँचिरहेको रुपमा अथ्र्याइएको छ । रुसले भेनेजुएलामा सेना पठाएपछि अमेरिकाले यसबारे चाँडै ठूलोस्तरको रणनीतिक प्रतिक्रिया दिनसक्ने बताइन्छ । यसअघि सिरियाली राष्ट्रपति बसर अल असदविरुद्ध सशस्त्र विपक्षीले सत्ता नै परिवर्तन गर्न लागेपछि रुसले आफ्ना सैनिक सिरियामा तैनाथ गरेको थियो । रुसले विपक्षीविरुद्ध सैन्य कारबाही थालेपछि असदको सत्ता टिकेको थियो । अहिले पनि भेनेजुएला प्रकरणमा रुसी सेना पठाइएसँगै विभिन्न अड्कलबाजी शुरु भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);