काठमाडौं, १२ चैत । बलिउड अभिनेत्री कंगना रनावतले नयाँ चलचित्रका लागि २४ करोड लिएकी छिन् । अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी तमिलनाडुकी पूर्वमुख्यमन्त्री स्वर्गीय जयललिताको वायोपिक चलचित्रमा कंगनाले अभिनय गर्ने भएकी हुन् । उनले आफ्नो जन्मदिनको अवसरमा फिल्म हस्ताक्षर गरेकी हुन् ।
भारतीय मिडियाका अनुसार, जयललिताको वायोपिक फिल्मका लागि कंगनाले २४ करोड पारिश्रमिक बुझेकी छन् । सधैं अभिनेतासरह पारिश्रमिक अभिनेत्रीले पनि पाउनुपर्ने आवाज उठाउँदै आएकी उनी अब बलिउडकी सबैभन्दा महँगी अभिनेत्री बनेकी छन् । दुई वर्षअगाडि इन्टरनेशनल स्टार प्रियंका चोपडा बलिउडकी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको लिस्टमा थिइन् ।
जयललिताको वायोपिक चलचित्र दक्षिण भारतीय फिल्मका नामुद निर्देशक एएल विजयले निर्देशन गर्दैछन् । तमिलनाडुमा जयललितालाई पुराची थलाइवीको नामबाट पनि चिनिने गरिन्थ्यो, जसको अर्थ हुन्छ ‘क्रान्तिकारी नेता’ । चलचित्रका हिन्दी संस्करणको नाम ‘जया’ राखिएको छ । यो समाचार आजको हिमालय टाइम्समा लेखेको छ ।