काठमाडौं, ११ चैत । दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको १२ औं संस्करणमा विजयी सुरुवात गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्लीले आईतवार भएको खेलमा मुम्बई इन्डियन्सलाई ३७ रनले हरायो । मुम्बईको वाङ्खडे रंगशालामा दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७६ रन मात्रै बनाउन सक्यो । उसका लागि युवराज सिंहले ५३ रन जोड्दा बलिङतर्फ दिल्लीका इशान शर्मा र कागीसो राबडाले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ऋषब पन्तको अविजित ७८ रनको मद्दतले २ सय १३ रन जोडेको थियो ।
आईपीएल अन्तर्गत हिजोको पहिलो खेलमा कोलकाता नाईट राईडर्सले सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको कोलकाताले खेलमा २ बल बाँकी छँदा ४ विकेट गुमाएर विजयी लक्ष्य पुरा ग¥यो । नेपालका लेग स्पिनर सन्दिप भने यो खेलको सुरुवाती एघारमा परेनन् ।