काठमाडौं, १० चैत । प्रतिनिधिसभाले “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५”लाई पारित गरेको छ । प्रतिनिधिसभाको आईतबार बसेको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको विधेयक माथि छलफल गरि संशोधन सहित बहुमतले पारित गरेको हो ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहित “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५” माथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।
प्रतिवेदन सहितको विधेयक माथिको छलफलमा सहभागी हुदै सांसदहरु प्रेम सुवाल, पुष्पा भुसाल, शेर बहादुर तामाङ, हितबहादुर तामाङ, कृष्णभक्त पोख्रेलले महत्वपुर्ण विधेयक भएकाले त्यसबारे वृहत रुपमा सरोकारवालाहरुसंग छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै अझै पनि विधेयकमाथि कयौ संशोधन आवश्यक रहेको बताएका थिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री ढकालले विषयगत आधारमा संसोधन गर्नुपर्ने आवश्यकता देखिएमा भविष्यमा संशोधन गर्दै लैजान सकिने बताए । उनले विधवा महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने र डाक्टरको लापरवाहीका कारण विरामीको मृत्यु भएको वा नभएको भन्ने विषयमा छानविन गर्न गठन गरिने समितिका सदस्यको क्षमता र योग्यताका बारेमा सांसदहरुले गराएको ध्यानाकर्षणलाई आगामी दिनमा महत्व दिईने प्रतिवद्धता जनाए ।




