तारागाउँ रिजेन्सीमा अनियमितता : व्यवसायीका पोल्टामा सरकारी सेयर | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

तारागाउँ रिजेन्सीमा अनियमितता : व्यवसायीका पोल्टामा सरकारी सेयर

taragaun

काठमाडौं, ९ चैत । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सेयर संरचना बाँडफाँटमा पनि अनियमितता भएको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद्को अन्तर्राष्ट्रिय समितिले गठन गरेको उपसमिति र महालेखा परीक्षक कार्यालयको अनुसन्धान र छानबिनमा यस्तो अनियमितता पाइएको हो ।

सञ्चालकहरू राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठको समूहले सरकारी सेयर संरचना घटाई आफ्नो बढाएका छन् । सञ्चालकहरूको चलखेलकै कारण सेयर संरचना ३९ प्रतिशतबाट घटेर तारागाउँ विकास समितिका भागमा ९ प्रतिशतमा सीमित भएको छ ।

‘यसमा तारागाउँ विकास समितिका पूर्वपदाधिकारी, होटल्स लिमिटेडका सञ्चालकहरू, कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीलगायतको मिलेमतो छ,’ अख्तियार स्रोतले भन्यो, ‘हामी छानबिन गरिरहेका छौं ।’

अख्तियारले यसबारे अनुसन्धान गरी छिट्टै भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । संसदीय उपसमितिले आगामी साता अनियमितता भएको निष्कर्ष र कारबाही सिफारिससहितको प्रतिवेदन बुझाउँदै छ । तीन सातापछि राष्ट्रपतिसमक्ष पेस हुने महालेखा प्रतिवेदनमा पनि यसबारे उल्लेख हुने स्रोतले जनायो । जग्गाबारे छानबिन गर्न भूमिसुधार मन्त्रालयद्वारा गठित छुट्टै समितिले पनि आउँदो साता प्रतिवेदन दिनेछ । यी विभिन्न अनुसन्धानका क्रममा जग्गा भाडा र भवन निर्माणका साथै वैदेशिक लगानी भित्र्याउने र सेयर बाँडफाँट गर्ने चरणसम्मै पटक–पटक अनियमितता भेटिएको हो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।