एजेन्सी, ३ चैत । भारतमा आम निर्वाचन आउन लागेका बेला विभिन्न राजनीतिक फण्डाबाजी र अरु अनेक चर्तिकला भइरहेका बेला सत्तारुढ भारतीय जनता पार्टी बीजेपीले त्यस्तै फण्डा शुरु गरेको छ । आम निर्वाचनलाई ध्यानमा राखेर बीजेपीले ‘मैं भी चौकिदार’ अर्थात् म पनि चौकिदार भन्ने अभियान शुरु गरेको छ ।
भारतीय आम निर्वाचनका ताका विभिन्न फण्डा सुरु हुने गर्दछन । यस्तै फण्डा यसपालीको भारतीय आम निर्वाचनको मिति नजिकिदै गर्दा पनि सुरु भएको छ । आगामी अप्रिल ११ बाट शुरु हुन लागेको मतदान आउन तीन साताको समय बाँकी रहेका बेला चौकिदार शब्द भारतीय राजनीतिमा निकै लोकप्रिय बन्दै गइरहेको छ ।
यही चौकिदार भन्ने शब्द आम आदमी पार्टीकी एकजना विधायक अलका लंबाले नेपालीलाई लक्षित गरी प्रयोग गरेपछि भारतीय राजनीतिमा निकै चर्चामा रहेको त्यो शब्द नेपालमा पनि चर्चित हुन पुगेको थियो । लंबाले नेपालबाट चौकिदार मगाउने र नेपालीहरु चौकिदार हुन्छन् भन्ने आशयको ट्विट गरेपछि उनको आलोचना भएको थियो । आलोचनापछि उनले आफ्नो ट्विट डिलिट गर्नु परेको थियो ।
चौकिदार शब्द चर्चित रहेकै बेला प्रधानमन्त्री नरेन्द्र मोदीसहित बीजेपीका अरु शीर्षस्थ नेताहरुले आफ्नो ट्विर हेण्डलमा आफ्नो नामको अगाडी चौकिदारको उपनाम झुण्ड्याएका छन् । यससँगै ट्विटर हेण्डलमा उनीहरुको नाम चौकिदार नरेन्द्र मोदी, चौकिदार अमित शाह, चौकिदार जेपी नड्डा, चौकिदार पियुस गोयल, चौकिदार स्मृती इरानी हुन पुगेको छ ।
चौकिदार अभियान अन्तर्गत अहिले सामाजिक सञ्जाल खासगरी ट्विटरमा #mainbhichowkidaar अभियान सुरु भएको छ । चौकिदार अभियान अन्तर्गत नै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै आफू मुलुकको चौकिदार भएको र आफू राष्ट्रसेवाका लागि अटल भएर उभिएको उल्लेख गरेका छन् । उनले आफू एक्लै नभएको राष्ट्रमा विद्यमान भ्रष्टाचार र सामाजिक समस्याविरुद्ध लड्ने हरेक भारतीय चौकिदार भएको प्रधानमन्त्री मोदीको भनाइ छ ।
त्यसबाहेक उनले चौकिदार अभियानका लागि सामाजिक सञ्जालमा ३ मिनेट ४५ सेकेण्डको भिडियो समेत सार्वजनिक गरेका छन् । यता विपक्षी दल काँग्रेसले भने बीजेपीको फण्डालाई काउण्टर गर्नका लागि ‘चौकिदार चोर हैं’ अर्थात् चौकिदार चोर हुन् भन्ने अर्को फण्डा सुरु गरेको छ । सरकार तथा सत्तारुढ बीजेपी भ्रष्टाचार लगायत अनेक प्रकरणमा फसेका कारण आफूलाई चौकिदार भन्ने सरकारको विश्वास गर्न नसकिने भन्दै चौकिदार चोर हुन् भन्ने अभियान सुरु गरिएको काँग्रेसको तर्क छ ।
भारतीय राजनीतिमा चौकिदार भन्ने शब्द चाहिँ अघिल्लो आम निर्वाचनबाट शुरु भएको वा मूलधारमा आएको बताइन्छ । त्यसबेला नरेन्द्र मोदीले आफू मुलुकको प्रधानमन्त्री नभई प्रधान–चौकिदार भएर काम गर्ने जनाएका थिए । त्यसपछि चौकिदार भन्ने शब्द भारतीय राजनीतिको मूलधारमा आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।