उदयपुर, २ चैत । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार उदयपुरको सदरमुकाम गाईघाटस्थित राधाकृष्ण मन्दिरको पूजा अर्चना गरेका छन् । पछिल्लो समय देशका विभिन्न शक्ति पीठहरुमा पूजा अर्चना गर्दै हिंडेका पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार उदयपुरको सदरमुकाम गाईघाट स्थित राधाकृष्ण मन्दिर आइपुगेका हुन् ।
दिउँसो करिव तीन बजे जनकपुरबाट सिरहाको लहान हुँदै निजी सवारीसाधन मार्फत आएका पूर्वराजा गाईघाटस्थित मुख्यचोकबाट उपस्थित सर्वसाधारणको अभिवादन फर्काउँदै पैदल हिँडेर राधाकृष्ण मन्दिर पुगेका थिए ।
राधाकृष्ण मन्दिरमा करिव २० मिनेट पूजा आराधना गरिसकेपछि पूर्वराजाले केही संघसंस्था र निश्चित व्यक्तिहरुसँग भेटघाट गरे । पूर्व राजा आउने थाहा पाएपछि उनलाई हेर्न सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।
स्थानीय संचारकर्मीले भ्रमणबारे पूर्वराजाको प्रतिक्रिया लिन प्रयास गर्दा पूर्वराजा शाहले नितान्त धार्मिक भ्रमण भएको बताउँदै प्रतिक्रिया दिन अस्विकार गरेका थिए ।




