काठमाडौं, १६ भदौ । नेपाल यातायात व्यवस्था विभागले राजधानी बाहिर जाने यात्रुका लागि भदौ २२ गतेदेखि अग्रिम बुकिङ खोल्ने निर्णय गरेको छ ।
नेपालीहरुको महान पर्व वडादशै आउनै थालेकाले टिकटको बुकिङ खोल्ने निर्णय भएको हो । यसपालि असोज १४ गते वडादशै परेको छ । भदौ २२ गतेदेखि टिकटको बुकिङ खुलेपनि धेरैजसो मानिस घटस्थापनादेखि मात्र राजधानी छोड्ने गर्छन् ।
देशका विभिन्न भागबाट काठमाडौंमा बसोबास गर्दै आएका मानिस वडा दशैंमा आफ्नो घर फर्किने गर्छन् । दशैका लागि २० लाख वढी मानिसले काठमाडौं छाडेर आफ्नो घर जाने गर्छन् ।
यातायात व्यवस्था विभागको पहलमा आज सरोकारवालाको बैठक बसेको थियो । उक्त बैठकले यात्रुको सहजताको लागि २२ भदौदेखि टिकट बुकिङ खोल्न निर्णय गरेको हो ।
यात्रुहरुले २० किलोभन्दा बढी सामान बोक्न नपाइने
दसैँमा उपत्यका बाहिरिने यात्रुहरुले २० किलोभन्दा बढी सामान लगेमा वा यातायात व्यवसायीले छतमाथि मान्छे राखेमा जरिवानासहित आवश्यक कारबाही गर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार टिकट बुकिङ सुरु भएको दिनदेखि नै बुक गरिने हरेक टिकटमा यात्रुको नाम, ठेगाना तथा सामानको तौल पनि राख्नु पर्नेछ ।
यातायात व्यवसायी र विभागका पदाधिकारीहरुबीच शुक्रबार भएको बैठकमा सवारी साधनले कति भाडा लिने भन्ने विषयमा भने केही निर्णय भएको छैन । यस विषयमा आगामी साताभित्र सूचनामार्फत जानकारी गराइने विभाग स्रोतले जनाएको छ ।