मेलम्चीबाट सिएमसी कम्पनी भागेपछि ७ सय मजदुरको बिचल्ली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मेलम्चीबाट सिएमसी कम्पनी भागेपछि ७ सय मजदुरको बिचल्ली

देबराज सुबेदी

सिन्धुपाल्चोक, ३० फागुन । मेलम्ची खानेपानी आयोजनाबाट इटालियन कम्पनी सिएमसी भागेपछि त्यहाँ कार्यरत ७ सय मजदुर बिचल्लीमा परेका छन् । मजदूरहरुले ८ महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् ।

मेलम्ची आयोजनाबाट इटालियन ठेकेदार भागेपछि मजदुर मात्र होइन आयोजनाका लागि सामान ढुवानी गर्नेहरु पनि अहिले मारमा परेका छन् । मजदूरी गरेको पाँच महिनाको तलब नदिई कम्पनीले ठेक्का रद्द गरेर भागेपछि पुर्णबहादुर लामिछाने आफ्नो पसिनाको मूल्य कसरी लिने भन्ने चिन्तामा छन् ।

उनको समुहमा काम गर्ने १२ जनासहित कम्पनीले आयोजनाको काममा लगाएका झण्डै सात सय स्थानीय मजदुरले कम्पनीसँग दुईदेखि आठ महिनासम्मको भुक्तानी लिन बाँकी रहेको लामिछाने बताउँछन् ।

आफ्नो ज्यानको माया मारी परिवारको रोजी रोटी जुटाउन भिरमा झुण्डिएर गरेको कामको ज्याला नपाँउदा अर्का मजदुर गुरुप्रसाद दुलाल पनि रनभुल्लमा छन् । उनलाई आफ्नो पसिनाको पारिश्रमिक पाउन कता गुहार्नु र कसलाई दबाब दिनु भन्ने भएको छ ।

ठेकेदार कम्पनीले पारिश्रमिक नदिई भागेपछि पारिश्रमिक दिलाउने जिम्मा मेलम्ची आयोजनाले लिनु पर्ने माग मजदुरहरुले गरेका छन् । पारिश्रमिक नदिई अर्को ठेकेदार छनौट गरेमा आयोजना अघि बढ्न नदिने मजदुरहरुले चेतावनी दिएका छन् ।

मजदुर मात्र हैन सिएमसीले ठेक्का तोडेर गएपछि आयोजनाको काममा निर्माण सामाग्री निर्यात गर्ने सप्लायर्सहरु पनि मारमा परेका छन् । ठेकेदार कम्पनीले स्थानीय सप्लायर्स र भेण्डर्सहरुलाई मात्र १६ करोड ५० लाख ३८ हजार पाँच सय रुपैयाँ भुक्तानी दिन बाँकी रहेको सप्लायर्सहरु बताउँछन् ।

१२ सप्लायर्स तथा भेण्डर्स कम्पनीले ठेकेदारसँग उक्त रकम भूक्तानी लिन बाँकी रहेको सिएमसी पीडित संघर्ष समितिले जानकारी दिएको हो ।

आफुहरुले पाउनुपर्ने रकम उपलव्ध नगराए आयोजनाको साइड कार्यालयमा तालाबन्दी गर्ने लगायत चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने पीडितहरुले चेतावनी दिएका छन् । चिनियाँ ठेकेदार कम्पनीले ठेक्का रद्द गरेपछि सिएमसीले सुरुङको फिनिसिङ र हेडवक्र्सको काम बाँकी रहँदा पुस दुई गते ठेक्का छाडेर भागेको थियो ।

काममा फर्कन सरकारले पटक पटक आग्रह गर्दा समेत नफर्केपछि बाध्य भएर सरकारले ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द भएपछि अब आयोजना कसरी अघि बढाउने भन्ने कुनै निर्णय हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);