एमबिबिएसका नाममा अभिभावक दोहन | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

पोखरा, ३० फागुन । सरकारले तोकेभन्दा बढी शुल्क असुलेपछि विद्यार्थी आन्दोलनका कारण ४३ दिनदेखि ठप्प गण्डकी मेडिकल कलेजको विवादमाथि पोखरा उच्च अदालतमा बुधबार बहस भएको छ । कलेज अध्यक्ष खुमाप्रसाद अर्यालले निषेधाज्ञा माग्दै दर्ता गरेको रिटमा बुधबार पक्षमा चार र विपक्षमा एकजनाले बहस गरेका छन् ।

बिहान साढे ११ बजे सुरु भई ५ बजेसम्म बहस चले पनि समय अभावका कारण बिहीबारका लागि लम्बिएको अदालतका नासु रामप्रसाद न्यौपानेले बताए । उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश रामचन्द्र यादवको संयुक्त इजलासमा भएको बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र रमण श्रेष्ठ, अधिवक्ताहरू दीपक शर्मा पौडेल र पूर्णराज राजवंशीले बहस गरेका छन् । विपक्षीको तर्फबाट भने अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका छन् । विपक्षीका तर्फबाटै बिहीबार तिलक पराजुली र भगवती पहारीले बहस गर्नेछन् । यस्तै सरकारी वकिलले पनि बिहीबार बहस गर्नेछन् ।

कलेज सञ्चालकसहित १० जनाविरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेलगत्तै २३ फागुनमा कलेजका अध्यक्ष अर्यालले धरपकड रोकियोस् भन्दै रिट दायर गरेका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले आइतबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । निवेदकले तत्काल अन्तरिम आदेश जारी गर्न माग गरे पनि न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलासले कारण देखाउ आदेश मात्र जारी गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने छलफल गर्न बुधबारका लागि दुवै पक्षलाई बोलाएको थियो ।

कलेजका अध्यक्ष अर्यालले कास्की जिल्ला अदालत, जिल्ला प्रहरी, जिल्ला प्रशासन, जिल्ला न्यायाधिवक्ताको कार्यालय र विद्यार्थी अनित सिन्हासहित तीनजनालाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

विद्यार्थीसँग बढी शुल्क असुलेको आरोपमा पक्राउ परेका कलेजका सञ्चालकसमेत रहेको पूर्वसिइओ सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्माको म्याद थप गरी कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरू २२ फागुनमा पक्राउ परेका थिए । ठगी मुद्दामा म्याद थपेर अनुसन्धान गरिरहेको जिप्रका कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । पक्राउ पुर्जी जारी गरिएका कलेजका अध्यक्ष खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखा कर्मचारी हरिमाया पौडेल, प्रशासनका कर्मचारी दिनेश पौडेल, पूर्वसिइओ सन्तोष खनाल, कर्मचारीहरू तिलक पौडेल, लक्ष्मणप्रसाद शर्मा, कृष्ण पौडेल र कृष्ण घिमिरेको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।