काठमाडौं, २७ फागुन । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा बिथोल्ने तत्वलाई निस्तेज बनाउने प्रक्रिया अघि बढाइएको बताएका छन् ।
सोमबार भैरहवामा आयोजित पाँच नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले अहिले मुलुकको शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको दाबी समेत गरे । नेत्र विक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीप्रति लक्षित गर्दै गृहमन्त्री थापाले राज्य, संविधान र व्यवस्था विरोधी तत्वबाट मुलुकको शान्ति सुरक्षा र प्रगतिकालागि चुनौती भएकाले यसलाई निस्तेज र नियन्त्रण गर्न आवश्यक प्रकृया अघि बढाइएको बताए ।
उहाँले स्वतन्त्र मधेशको माग गर्ने सिके राउत समूलाई राजनीतिको मूलधारमा ल्याउन सरकार सफल भएको दाबी गरे । गोष्ठीमा पाँच नम्बर प्रदेश अन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुशन्धानका प्रमुखहरुको सहभागिता रहेको छ ।