काठमाडौं, २५ फागुन । अबको ६ महिनाभित्र महानगरक्षेत्रका सबै कुकुर बन्ध्याकरण भइसक्नेछन्। कामपाको सहयोगमा सञ्चालित मनुमित्र कार्यक्रमअन्तर्गत १४ हजार कुकुरको बन्ध्याकरण हुन लागेको हो।
हालसम्म करिब ७ हजार कुकुरको बन्ध्याकरण भइसकेको छ। कामपाद्वारा गठित वडास्तरीय पशु व्यवस्थापन समितिको सहयोगमा भएको बन्ध्याकरण कार्यक्रम महानगरको २१ वटा वडामा सम्पन्न भइसकेको छ। अब बाँकी रहेको ११ वटा वडा ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक डा. संगीता सापकोटाले जानकारी दिनुभयो।
उहाँका अनुसार सन् २०१६ अप्रिलमा सिंहदरबारका कुकुर बन्ध्याकरण गरी शुरू गरिएको कार्यक्रम अबको ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ। कार्यक्रमअन्तर्गत वडामा रहेका कुकुरको यकिन पहिचान गर्ने र त्यसलाई बन्ध्याकरण र औषधी उपचार गरी सोही स्थानमा छाड्ने प्रचलन रहेको छ।
कार्यक्रमअन्तर्गत वडा कार्यालयको संयोजनमा चिकित्सकसहितको टोलीले छाडा कुकुर समातेर बन्ध्याकरण गर्ने गरेको छ।
अधिकांश वडाका कुकुरको संख्या यकिन गरेर बन्ध्याकरण शुरू गरिएको सापकोटाको भनाइ छ। उहाँले महानगरपालिका क्षेत्रभित्रका कुकुरलाई व्यवस्थित गर्न यो परियोजना सञ्चालन गरिएको बताउनुभयो। मनुमित्र कार्यक्रमअन्तर्गत सिंहदरबार, प्रहरी कार्यालय, बालुवाटारस्थित प्रधानमन्त्री निवास, नारायणहिटी संग्रहालयलगायत कार्यालयमा बस्दै आएका कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकिएको छ।
यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।