काठमाडौँ, २४ फागुन । अमेरिकाकी एक सिनेटरले आफू वायुसेनाको एक वरिष्ठ अधिकारीबाट बलात्कृत भएको खुलासा गरेकी छन् ।
वायुसेनामा कार्यरत रहँदा आफूलाई एक वरिष्ठ अधिकारीले बलात्कार गरेको भन्दै सिनेटर मार्था म्याकस्लीले खुलासा गरेकी हुन् । सेनामा यौन दुष्कर्मबारे सुनुवाइका क्रममा उनले यस्तो बताएकी हुन् । उनी युद्धमा लडाकु विमान उडाउने पहिलो अमेरिकी महिला पाइलट हुन् । एरिजोना रिपब्लिकन अखबारमा प्रकाशित समाचार अनुसार मार्थाले आफू बलात्कृत भएको उजुरी भने दिएकी थिइनन् ।
लाज र भ्रमका कारण त्यतिबेला उनले उजुरी नदिएको बताइएको छ । सिनेटर मार्थाले सिनेट आर्मड सर्भिस उपसमितिमा यौन उत्पीडनका शिकार भएकाहरुको सुनुवाइका क्रममा आफ्नो विगतबारे खुलासा गरेको बताइएको छ । उनले यौन उत्पीडनको शिकार भएकाहरुलाई सम्बोधन गर्दै भनिन् तपाईहरु जस्तै म पनि यौन उत्पीडनको शिकार भएकी थिएँ, तर कयौं बहादुर महिला भन्दा विपरीत मैले यस विरुद्ध आवाज उठाउन सकिनँ, अन्य महिला र पुरुष जस्तै मलाई त्यतिबेला व्यवस्थामाथि भरोसा थिएन । २६ वर्षसम्म अमेरिकी वायुसेवामा काम गरेकी उनले सन् २०१० मा अवकाश पाएकी थिइन् ।




