टीकापुर, २२ फागुन । थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दामा बहस सकिएको छ ।
जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा सो मुद्दाबारे वादी र प्रतिवादी पक्षका कानून व्यवसायी बीच बहस सकिएको हो । झण्डै ४२ महिनापछि गत बुधवारदेखि तोकिएको पेशी अन्तर्गत एक साता सम्म दुवै पक्षका कानुन व्यवसायीबिच बहस भएको थियो । वादीतर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए भने प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता हरि फुँयाल, गंगाराम पाध्याय, मिलन राई र गजेन्द्र केसी लगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
मंगलबार बहस सकिएपछि आज दिउसो १ बजे मुद्दाको फैसला पनि हुने जिल्ला अदालत कैलाली श्रोतले जनाएको छ । २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ८ प्रहरी सहित १ नाबालकको ज्यान गएको थियो । घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर भएको छ । ५८ जनामध्ये सांसद रेशम चौधरी, थारु नेता लक्ष्मण थारु, लाहुराम चौधरी सहित २७ जना हाल पुर्पक्षको लागि थुनामा छन् भने बाँकी फरार छन् ।