जुम्ला, १८ फागुन । कर्णालीका एथलेटिक्स खेलाडीलाई खाजा खर्च जुटाउन कुटानी पिसानी मिल सञ्चालन गरिएको छ । खेलाडीको दैनिक प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताका क्रममा आवश्यक पर्ने यातायात खर्च र खाजा खर्च जुटाउन मिल सञ्चालन गरिएको हो । कर्णाली स्पोर्ट्स क्लबले चन्दननाथ नगरपालिका–५ रानीपोखरीनजिकै २२ लाख रुपैयाँ लागतमा मिल निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
यसअघिका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथनमा कीर्तिमान राखेका जुम्लाका एथलेटिक्स खेलाडीले भोग्नुपरेको आर्थिक संकट हटाउन मिल सञ्चालन गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए । मिलबाट प्राप्त आम्दानी नयाँ खेलाडी उत्पादन तथा खेलाडी व्यवस्थापनमा खर्च गरिने उनले बताए । ‘नियमित प्रशिक्षणका क्रममा खाजा, पोसाक र यातायात खर्च नहुँदा हाम्रा खेलाडी निरुत्साहित छन्’ उनले भने, ‘अब त्यो समस्या अन्त्य गरी कर्णालीको खेलबाट नेपाललाई विश्वसामु चिनाउन दक्ष खेलाडी उत्पादन गर्नेछौं ।’
कुटानी पिसानी मिल सञ्चालनका लागि ग्रिड इन्टरनेसनल काठमाडांैले १४ लाख, राधा पौडेल फाउन्डेसनले २५ हजार र स्थानीय वडाले एक लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गरेका छन् । यस्तै कर्णाली स्पोर्ट्स क्लबका खेलाडीले मिल निर्माणमा श्रमदान गरेका छन् ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।