राजेन्द्र आचार्य
चितवन, १६ फागुन । चितवनमा शान्ति सुरक्षालाई थप मजबुत बनाउन उच्च प्रविधिको हाईटेक सिसि क्यामरा जडान गरिने भएको छ । शान्ति सुरक्षा कायमसगैँ अपराधिक क्रियाकलाप नियन्त्रण र बढ्दो सवारी दुर्घटनाको कारण पत्ता लगाउन नाईटभिजनसहितको हाईटेक सिसि क्यामरा जडान गर्न लागिएको हो ।
पछिल्लो समय चितवनमा अपराधिक क्रियाकलाप संगसंगै सडक दुर्घटनामा पनि बृद्धि भएपछि यसको न्युनिकरणको लागि जिल्ला प्रशासन कार्यालयले विभिन्न स्थानहरुमा उच्च प्रविधिको हाइटेक सिसि क्यामरा जडान गर्ने तयारी गरेको छ । जिल्लाको उत्तरी भेगमा पर्ने मौवा खोलादेखि लोथरसम्म हाईटेक सिसि क्यामरा जडान गर्न तयारी सुरु गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिईकन सिसि क्यामरा राख्न पाइने छैन । जडान हुने सिसि क्यामराले जिल्लामा शान्ति सुरक्षा बजबुत बनाउन थप टेवा पुग्ने आशा गरिएको छ । सिसि क्यामरा जडानका लागि कार्यदल नै गठन गरिएको छ । कार्यदलले एक हप्ताभित्र जिल्लाको मौवाखोलदेखि लोथरसम्म कति सिसि क्यामरा राख्ने भनी अवलोकन गरेपछि बजेट बिनियोजन गरी क्यामेरा जडान कार्य सुरु हुनेछ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख सुशिलसिहं राठौरले उच्च प्रविधिको सिसि क्यामराको जडानले अपराध अनुसन्धानमा सजिलो हुने बताए ।
जिल्लाको शान्ति सुरक्षालाई ध्यानमा राखी उच्च प्रविधिको सिसि क्यामरा जडान गर्न ल्याइएको योजनालाई सकारात्मक मानिएको छ । यस्तो कदमले स्थानीयहरुलाई पनि सुरक्षाको प्रत्याभुती दिलाउन सकिन्छ । तर यस्तो योजनाहरु योजना मै मात्र सिमित नभई प्रभावकारी कार्यान्वयनको पनि आवश्यक छ । नयाँ योजना कार्यान्वयन गर्ने तयारी गरिए पनि जिल्लामा पहिले जडान गरिएका सिसि क्यामराहरुको मर्मत सम्भारमा भने सरोकारवाला निकायले खासै ध्यान दिएको पाईदैन ।