गोरखा, २९ माघ । गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीका गाईपालक राजेन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । दुई दशकदेखि व्यावसायिक रूपमा गाईपालन गर्दै आएका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत जातका ३ सय ६० गाई छन् । जसमध्ये १३० दुहुना छन् ।
एउटा गाईले दैनिक १५ देखि ३० लिटरसम्म दूध दिन्छन् । ३० लिटर दूध दिने गाईलाई दिनमा ३ पटक दुहुने गरिएको छ । फार्ममा दैनिक १४ सयदेखि १४ सय ५० लिटरसम्म दूध उत्पादन हुने गरेको छ । फार्ममा नै चिस्यान केन्द्र राखेका उनले प्रतिलिटर ५३ रुपैयाँमा भक्तपुरको खरिपाटी डेरीमा दूध बिक्री गर्छन् ।
आम्दानीबाट खर्च कटाएर न्यूनतम ३ लाख रुपैयाँ नाफा हुने पन्तले बताए । फार्मका लागि ३ सय ४० रोपनीमा १८ किसिमका घाँस खेती लगाइएको छ । १७ रोपनीमा १३ गाई गोठ, प्रशिक्षण केन्द्र, दाना उत्पादन घर, चिस्यान केन्द्र छ । पशुपालनमा आधुनिकीकरण गर्दै उनले मेसिनबाट दूध दुहुने गर्छन् । “दूध दुुहुने मेसिन ४ वटा छन् । ६ जनाले २ घन्टामा दुहेर सक्छन््,” उनले भने ।
२०५२ सालमा १८ लाख रुपैयाँ लगानीमा पन्तले स्थापना गरेको कामधेनु गाईपालन केन्द्रमा अहिले कुल लगानी ८ करोड रुपैयाँ पुगेको छ । परिवारका ६ सदस्यसहित ३५ जना कर्मचारी फार्ममा छन् । २० जना मासिक तलब लिने कर्मचारी छन् । आवश्यकताअनुसार ज्यालादारीमा पनि काम लगाउने गरेको उनले बताए ।
“ज्यालादारीमा काम गर्नेलाई दैनिक ४ सय दिन्छु,” उनले भने, “दैनिक र ज्यालादारी गरी मासिक दुई लाख पचास हजार रुपैयाँ कर्मचारी तलबमा जान्छ ।” दूधमात्रै होइन्, उनले बाच्छी पनि बेच्दै आएका छन् । “ब्याउने गाई १ लाख १५ हजार रुपैयाँमा बिक्री गर्छु,” उनले भने, “ब्याएको बाच्छी त उसले दिने दूधका आधारमा बेच्ने हो । प्रतिलिटर १० हजार रुपैयाँका हिसाबले बिक्री गर्छु ।”
यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।