डेरी खुलेसँगै दलित समुदायले दूध बेच्न पाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डेरी खुलेसँगै दलित समुदायले दूध बेच्न पाए

डडेल्धुरा, २२ माघ । डडेल्धुरामा डेरी सञ्चालनमा आएपछि दलित समुदायको गाईभैंसीको दूध बिक्री हुन थालेको छ । डडेल्धुराकोे भित्री मधेश क्षेत्रमा पछिल्लो समय व्यावसायिक रूपमा दुग्ध संकलन केन्द्र डेरी सञ्चालनमा आएपछि दलित समुदायकाले पनि सजिलै दूध बिक्री गर्न पाएका छन् । अहिले त्यस क्षेत्रका दलित समुदायहरूले उन्नत जातका गाईभैंसी पालन गरी दूध बिक्रीबाट जीविकोपार्जन गर्दै आएका छन् ।

“गाउँ नजिकैको घरेलु बजारमा डेरी सञ्चालनमा आएपछि हामीले दूध बेच्न पाएका छौं, नत्र भने हाम्रो दूध कसले किन्थ्यो र ?” आलिताल गाउँपालिका–६ का ६५ वर्षीय वृद्ध लक्ष्मण कोलीले भने, “पहिले घरपरिवारकै लागि उपभोग गर्नका लागिमात्र गाईभैंसी पाल्ने गर्थ्येउ , अहिले घरेलु बजारमा डेरी सञ्चालनमा आएपछि यहाँका प्रत्येक परिवारले दुईभन्दा बढी नै उन्नत जातका जर्सी गाई पालन गरी व्यवसायिक रूपमा दूध बिक्रीबाट दैनिक पाँचदेखि पन्ध्र सय रुपैयाँ आम्दानी गरिरहेका छन् ।” दूध बिक्री हुन थालेपछि २०-२२ परिवार दलित बस्ती रहेको आलिताल–६ मा अहिले ६० भन्दाबढी उन्नत जातका दूधालु जर्सी गाई छन् । डडेल्धुरामा दलित अझै पनि दलितको दूध गैरदलितले नकिन्ने भएका कारण उनीहरूको दूध बिक्री हुन सकेको थिएन ।

आलिताल गाउँपालिका–४ स्थित घरेलु बजारमा स्थानीय कमलसिंह ऐडीले डेरी सञ्चालनमा ल्याएपछि त्यस क्षेत्रका दलित समुदाय तथा अन्य समुदायका स्थानीयहरू व्यावसायिक रूपमै उन्नत जातका गाईपालनतर्फ आकर्षित भएका छन् । ऐडीले दूध चिस्यान गर्न चिलिमभ्याटसहितको मष्टो दूध संकलन केन्द्र नामक दूध डेरी सञ्चालन गरेपछि घरेलु आसपासवासी स्थानीयहरूले दूध बिक्रीमार्फत राम्रो आम्दानी गर्न सफल भएका छन् भने ऐडीले घरेलुको दूध कैलालीसम्म निर्यात गर्ने गरेका छन् । ऐडीले अहिले दैनिक रूपमा करिब एक हजार लिटर दूध कैलालीको खप्तड डेरीलाई निर्यात गर्ने गरेका छन् ।

एकिकृत विकास समाजद्वारा सञ्चालित आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजना एमरेड दोस्रो चरणको आर्थिक सहयोगमा दूध डेरी सञ्चालनमा ल्याएको सञ्चालनक ऐडीले बताए । डेरी सञ्चालनका लागि आफ्नो लगानी ठूलो नै भए पनि सुरुवातमा पशु सेवा कार्यालय, एमरेड परियोजनाको आर्थिक तथा व्यवस्थापन सहयोगले डेरीप्रती आकर्षित गराएको उनको भनाइ छ । एमरेड परियोजनाले बाढी, भू–क्षयीकरण भएको स्थानमा डाले घाँसका बोटबिरुवा वृक्षारोपणसँगै तारजाली पर्खालसमेत निर्माण गरेको स्थानीयको भनाइ छ । परियोजनाले आवश्यक तालिम, घाँसका बोटबिरुवा उपलब्ध गराइ पशु सेवा कार्यालयसँग समन्वय गर्दै उन्नत गाईपालनका लागि केही रकम उपलब्ध गरेपछि अहिले दूध बिक्रीबाट आम्दानी गर्न सकिरहेको आलिताल–३ का कृषक तारादेवी मडैले बताइन् ।

दैवीप्रकोपको उच्च जोखिममा रहेको भित्री मधेश क्षेत्रमा एमरेड परियोजनाले जोखिम न्युनीकरणका लागि आवश्यक तालिम, उद्धार समिति बनाइ सामग्री हस्तान्तरणसँगै बहुउपयोगी पद्धती अपनाउँदै भूक्षय, बाढीग्रस्त स्थानहरूमा डाले घाँसका बोट बिरुवाहरू वृक्षरोपण गरी उन्नत जातका गाईभैंसी पालनतर्फ स्थानीयलाई अग्रसर गराउँदै आएको परियोजना अधिकृत सुरेन्द्रबहादुर ठगुन्नाले बताए । “प्राकृतिक तथा जलवायु परिवर्तनको असरबाट सृजित बिपद्बाट हुन आउने तनाव तथा झड्कासँग सामना गर्न उच्च जोखिम रहेका स्थानमा तारजालीको पर्खालसमेत लगाइ डाले घाँस नेपियर, अम्रिसोलगायतका अन्य बोटबिरुवा वृक्षरोपण गरेका छौं,” उनले भने, “उन्नजातका गाईभैंसी खरिद तथा गोठ सुधारका लागि केही रकम उपलब्ध गराइ पोषण र दैनिक आय आर्जनमा समेत वृद्धि गरेका छौं ।” यससँगै समुदायका स्थानीयलाई साग तरकारीका बिउ उपलब्ध तथा आवश्यक तालिम गराइ व्यावसायिक कृषिबाट पनि आय आर्जनमा टेवा पुर्याउने योजना तथा कार्यक्रम रहेको उनले बताए ।

यो खबर आजको करोबार दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);