बाजुरा, २५ माघ । बुधबार बेलुकादेखि निरन्तर परेको वर्षासंगै बाजुरामा फेरी बाक्लो हिमपात भएको छ । हिमपातले मानिसहरुको जनजीवन प्रभावित भएको छ । निरन्तरको वर्षा र हिमपातले बाजुरा जिल्लाको सदरमुकाम मार्तडी आसपासको क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुको जनजीवन निकै कष्टकर बन्दै गएको छ । हिमपातका कारण स्थानीयहरु घरबाहिर निस्कन समेत सकेका छैनन् ।
सदरमुकाम मार्तडी र पुर्वीउत्तरी क्षेत्रको कोल्टीकोबीचमा पर्ने पोरखे लेखमा झण्डै डेढ फिट हिउँ जमेको छ । पोरखे लेख नजिकैको सडकमा बाक्लो हिउँ जमेपछि सदरमुकाम मार्तडीबाट कोल्टी जाने सवारीसाधानहरु सदरमुकाम मार्तडीमै ठप्प भएका छन् ।
हिमपात र वर्षाले चिसो बढेसंगै जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयले सेवाग्राहीहरुलाई सेवा दिन समस्या भएको बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । यहाँ एकसाता अघि परेको हिउँ पग्लन नपाउँदै पुनः हिमपात भएपछि स्थानीयहरु थप प्रभावित बनेका हुन् ।